Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दीपक-दीपालाई बेनिशा र मलिनाभन्दा स्वस्तिमामाथि विश्वास !

फिल्मीखबर, काठमाडौं, 2023/01/31

deepakraj giri and deepashree(1)

 

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्ममा गीतको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले उनीहरु स्क्रिप्टमा जति मिहिनेत गर्छन्, गीत छनोटमा पनि उतिक्कै गम्भीर र सचेत हुने गरेका छन् । यसैको प्रतिफल हो, यो समुहका हरेक फिल्मका गीतहरु लोकप्रिय छन् । सोमबार सार्वजनिक फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ गीतले पनि हिटको संकेत गरिसकेको छ ।

युट्युब रिलिजको २४ घन्टा नवित्दै गीतलाई ७ लाख बढी भ्यूज मिलिसकेको छ भने सकारात्मक प्रतिक्रियाको बाढी छ । अडियो र भिडियो दुवै पक्षलाई रुचाएका छन् । गीतमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता राज आचार्यको नृत्यले दर्शकलाई लोभ्याएको छ । तर, यो फिल्ममा स्वस्तिमाको अभिनय छैन । उनी गीतमा मात्र देखिनेछिन् । ‘छक्का पञ्जा २’मा भने उनको अभिनय थियो ।

‘छक्का पञ्जा ४’का अभिनेत्रीहरु दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, बेदना राई हुन् । तर, गीतमा भने दीपाबाहेकलाई अटाइएको छैन । न त गीतको विवरणमा बेनिशा र मलिनाको नाम छ । यसबाट के बुझिन्छ भने दीपक-दीपाले उनीहरुभन्दा बढी विश्वास स्वस्तिमामाथि गरेका छन् । तर, फिल्ममा उनीहरुको अभिनय रहेको समेत नजनाउनुले चाहिँ केही गढबढको संकेत गर्छ ।

त्यसो त दीपक-दीपाले फिल्मका गीतमा फिल्मकै कलाकारभन्दा अतिथी कलाकारलाई बढी ठाउँ दिने गरेका छन् । यो उनीहरुको फिल्म र गीत चलाउने रणनीतिमध्ये एक हो । तर, फिल्ममा अभिनय गर्ने मुख्य कलाकारको नाम समेत गीतको विवरणमा उल्लेख नगर्नु चाहिँ ठूलो अन्याय हो । दीपक-दीपालाई कलाकारभन्दा फिल्मको नामप्रति बढी विश्वास त लागेको होइन ? बुझ्न गाह्रो छ ।