Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको दुबई फेस्टिभल संकटमा, ‘महापुरुष’ले गर्‍यो बहिष्कार

फिल्मीखबर, काठमाडौं, 2023/01/30

mahapurus and bord

 

विवादित नीजि कम्पनी सूर्य कर्पोरेसनसँग सहकार्य गरेर चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा आयोजना गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ संकटमा पर्ने देखिएको छ । वैदेशिक रोजगार विभागले ८० बढी राहदानी र विदेशमा कामदार पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको कम्पनीलाई बोर्डले फेस्टिभल गर्ने जिम्मा दिएपछि विवाद चुलिएको छ ।

यसबीच, उक्त फेस्टिभल बहिस्कार गर्न सुरु भएको छ । आइतबार सार्वजनिक एउटा पोस्टरमा फेस्टिभलको अन्तिम दिन फिल्म ‘महापुरुष’ देखाइने उल्लेख गरिएको थियो । तर, विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिइएको र अनुमति विना फिल्मलाई समावेश गरिएकोप्रति आपत्ति जनाउँदै निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महापुरुष’ले फेस्टिभलमा भाग नलिने घोषणा गरेको छ ।

षट्कोणले दुबई फेस्टिभलमा फिल्म सहभागी नहुनेबारे जानकारी दिँदै फेसबुकमा लेखेको छ, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट’मा फिल्म ‘महापुरुष’ अनुमति नलिकन कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

३० लाखको खर्चमा विवादास्पद कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमाथि पनि षट्कोण आर्ट्सले प्रश्न उठाएको छ । ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीमाझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ?’, षट्कोण आर्ट्सले बोर्डलाई प्रश्न गरेको छ ।

दुबईको फेस्टिभलमा ३० लाख खर्च गर्ने पैसाले मिडल इस्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे राहत मिल्ने उल्लेख गर्दै षट्कोणले अगाडि लेखेको छ, ‘विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौं ।’