Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बैशाख १ मा किन थुप्रिँदैछन् फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2023/01/28

एकै मितिमा दुई/तीनवटा फिल्म रिलिज हुनु सामान्य भइसक्यो । अचेल निर्माताले जुधाउनकै लागि फिल्म बनाएको जस्तो देखिन्छ । प्रायः हरेक हप्ता नेपाली फिल्म भिडिरहेका हुन्छन् । तर, कहिले एकै मितिमा फिल्मको मारामार हुन्छ भने कहिले एउटा पनि हुँदैन । यो हप्ता बलिउड फिल्म ‘पठान’का कारण नेपाली फिल्म नै रिलिज भएनन् । अब फागुन र बैशाखमा ठूलो भिडन्त हुँदैछ ।

आगामी फागुन १९ गते दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’बीच हुन लागेको प्रतिस्पर्धाले फिल्म क्षेत्र तरंगित बनेको अवस्थामा आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते थुप्रिएका फिल्महरु हेर्दा निर्माताबीच इगो र प्रतिष्ठाको लडाइँ हुन लागेको देखिन्छ । आगामी बैशाख १ मा अहिलेसम्म पाँच फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन्, जसमा कुनै सिरिज त कुनै ठूला स्टारकास्टका छन् ।

 

five nepali movie - new year


निर्देशक झरना थापाले यसपालीको तीजमा आफ्नो नयाँ फिल्म ‘भगवत् गीता’को प्रदर्शन मिति बैशाख १ गतेलाई तोकेकी थिइन् । तर, अहिलेसम्म छायांकन सुरु नभएकाले यो फिल्म घोषित मितिमा प्रदर्शन हुने सम्भावना कम छ । यद्यपि, फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भएको छैन । ब्लकबस्टर सिरिज ‘नाईं नभन्नू ल’को छैठौं श्रृंखलाले पनि बैशाख १ गतेको मिति फाइनल गरिसकेको छ ।

पुषमा छायांकन सकाएको फिल्म ‘प्रसाद २’ले पनि प्रदर्शनका लागि नयाँ वर्ष रोजेको छ । यसको अघिल्लो श्रृंखला व्यावसायिक र समीक्षात्मक रुपमा सफल भएकाले सिक्वेलको प्रतिक्षा दर्शकमा व्यग्र छ । त्यस्तै, ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ समुहको फिल्म ‘जारी’ र अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘बिहे पास’ले पनि बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

सम्भवतः अब यो मितिमा अरु फिल्महरु नथपिन सक्छन् । थपिए पनि त्यो चर्चाका लागि मात्र हुनेछन् । यो मितिमा ‘भगवत् गीता’ नआए पनि अरु चार फिल्म भने टसमस हुने छाँट देखिन्न । यो हुँदा घाटा चारै फिल्मका निर्मातालाई हुनेछ । दर्शक र हल दुवै बाँडिने हुँदा चारवटै फिल्मको व्यापार अपेक्षाकृत नहुन सक्छ । तर, निर्माताको इगोका कारण यो भिडन्त टर्ने सम्भावना न्यून छ ।

नयाँ वर्ष ठूलो चाड पनि होइन । न त सार्वजनिक विदा छ । तर, नयाँ वर्षमा दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वासमा निर्माताले फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानेको हुनुपर्छ । र, यसपाली बैशाख १ गते शुक्रबार परेको छ । यसले गर्दा पनि यो मितिमा निर्माता झुम्मिएका हुनसक्छन् । तर, एउटा सत्य के हो भने नेपाली बजारले एकै मितिमा चारवटा फिल्म धान्न सक्दैन ।