.jpg)
अभिनयमा प्रमाणित अभिनेत्री सुरक्षा पन्त हक्की स्वभावकी छन् । चित्त नबुझेका कुरा उनी खुलेर बोल्छिन् । चाहे त्यसले विवाद नै किन नजन्माओस् । यसैले उनलाई फिल्मकर्मी र दर्शकको एउटा वर्गले रुचाउँदैन । तर, उनका अभिव्यक्तिले यथार्थ बोल्छन् । उनी हरेक क्षेत्रमा हुने नकारात्मक कुराको विरोध गर्छिन् । यही कारण कतिपयले उनलाई नेपाली कंगना रनावत पनि भन्ने गर्छन् ।
बिहीबार ‘नेपाल सर्ट फिल्म कम्पिटिसन’को घोषणा कार्यक्रममा सुरक्षाले नेपाली फिल्म क्षेत्रभित्र मोनोपोली रहेको जिकिर गरेकी छन् । उनले भनेकी छन्, ‘सीमित व्यक्तिले फिल्म बनाउनुहुन्छ, एउटा स्थानमा पुग्नुहुन्छ, हामीले विश्वास गर्छौं तर केवल उहाँहरुको फिल्म मात्र अगाडि बढिरहेको छ । एककिसिमको मोनोपोली छ । सिन्डिकेटको अवस्थामा गैरहेको छ । यसलाई चिर्न जरुरी छ ।’
इन्डस्ट्रीमा सहकार्यको बानी नभएको समेत उनको तर्क छ । उनले फिल्म बनाउने व्यक्ति उत्पादन गर्ने स्कूलहरुको औचित्यमाथि पनि प्रश्न उठाएकी छन् । ‘फिल्म स्कूल, फिल्म बनाउने व्यक्ति जन्माउने थलो हो । तर, त्यसको काम के हो त ? पढाएर मात्र पठाउने तर पढेर निस्केकाहरु कहाँ पुगे ? धेरैजना त हामी फिल्ममै देख्दैनौं । यसबारेमा पनि अनुसन्धान गर्न आवश्यक देख्छु ।’
‘नेपाल सर्ट फिल्म कम्पिटिसन’को निर्णायकमा रहेकी उनी सर्ट फिल्म बनाउन चुनौतीपूर्ण हुने बताउँछिन् । दुई सर्ट फिल्ममा काम गरिसकेकी उनले सानो स्पेशमा रहेर काम गर्नुपर्ने र छोटो समयमा धेरै कुरा बुझाउनुपर्ने भएकाले फिचरभन्दा सर्ट फिल्म बनाउनु चुनौतीपूर्ण रहेको उनको अनुभव छ । नेपालमा सर्ट फिल्मको निर्माण बढाउन ओटीटीले भूमिका खेल्नुपर्ने सुरक्षाको धारणा छ ।

