Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप, सुरक्षा र सुजितले सर्ट फिल्म छान्ने, विजेतालाई २ लाख

फिल्मीखबर, काठमाडौं, 2023/01/27

short film festival

 

फिल्म मेकिङप्रति रुचि हुने र त्यसका लागि अवसर खोजिरहेकाहरुलाई लक्षित गरेर म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा ‘नेपाल सर्ट फिल्म कम्पिटिसन’ हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका साथै पुरस्कार राशी घोषणा गरियो । यो प्रतियोगिताको निर्णायकहरुमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी छन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले आगामी फागुन ३० सम्म कथासार र चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । सहभागी स्क्रिप्टलाई ३ दिन प्रशिक्षण दिएपश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० वटालाई छानेर निर्माणका लागि ७५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै, निर्माण भएर आएका फिल्ममध्ये पहिलो हुनेले २ लाख र बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार, स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेलाई ५० हजार नगद प्रदान गरिनेछ भने अभिनय, छायांकन, सम्पादन तथा ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् । नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीहरुका लागि ‘नेपाल सर्ट फिल्म कम्पिटिसन’ गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै निर्णायकमध्येका अनुप बरालले सर्ट फिल्म लम्बाईले छोटो भए पनि मिहिनेत ठूलो लाग्ने बताए । अर्का निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्व कति हुन्छ भन्ने कुराको आफू भुक्तभोगी भएको बताउँदै यस्ता प्रतिस्पर्धाले भिजुअल लिट्रेसीमा ठूलो योगदान गर्ने धारणा राखे । त्यस्तै, सुरक्षा पन्तले सर्ट फिल्मको निर्माण बढाउन यस्ता प्रातियोगिता हुनुपर्ने बताइन् ।