Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’ नचले पनि सिक्वेल निर्माण घोषणा, उपासना पक्का

फिल्मीखबर, काठमाडौं, 2023/01/27

Upasana Singh Thakuri - DECEMBER FALLS 2

 

गत पुष १५ गते प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ले बक्सअफिसमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । यस वर्षको फ्लप सूचिमा दरिएको फिल्मको अब सिक्वेल भन्ने भएको छ । हुन त फिल्मलाई सिक्वेलको रुपमा अगाडि बढाउने गरी नै टुंग्याइएको थियो । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले ‘डिसेम्बर फल्स २’को औपचारिक रुपमा निर्माण घोषणा गरेको हो ।

‘पार्ट टू’को घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी फिचर छिन् । अघिल्लो पार्टमा पनि उनको मुख्य भूमिका थियो । सिक्वेलमा उनीसँगै अभिनेता आर्यन सिग्देलको पनि अभिनय रहनेछ । निर्देशक भने परिवर्तन भएका छन् । अघिल्लो पार्टलाई नेपाली मुलका भारतीय निर्देशक प्रविण झाले निर्देशन गरेकोमा अब लक्ष्मण रिजालले क्याप्टेनसिप सम्हाल्नेछन् ।

रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पटकथा तथा संवाद निर्देशक रिजालको हो । फिल्मको प्रस्तुतकर्ता तथा निर्मातामा रामप्रसाद रिजाल र क्रियटिभ हेडमा रोनाल्ड श्रेष्ठ छन् । महेश आर गुप्ताले छायांकन गर्ने फिल्मको छायांकन आगामी चैत्र दोश्रो साताबाट सुरु हुने जानकारी प्राप्त छ । नेपाल र युरोपका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ ।

बक्सअफिसमा नचलेका फिल्मको सिक्वेल बनेका नेपालमा कमै उदाहरण छन् । फिल्म रिलिजअघि केही निर्माताले सिक्वेलको पनि घोषणा त गर्छन् तर फ्लप भएपछि अनुहारसम्म देखाउँदैनन् । तर, ‘डिसेम्बर फल्स’का निर्माता अपवाद बनेका छन् । फिल्म फ्लप भए पनि रिजालले हार खाएनन् । ‘फलामले फलामलाई काट्छ’ भनिएझैं फिल्मबाट डुबेका उनी फिल्मबाट नै उक्सन चाहन्छन् ।