.jpg)
बिहीबार अभिनेता पुष्प खड्काको एक तस्बिरले धेरैलाई अचम्मित तुल्यायो, जसमा उनको निधार र शरीरमा सेतो चन्दन पोतिएको थियो भने उनलाई दुईजना महिलाले दुबो र फूलले पूजा गरिरहेको देखिन्थ्यो । यो तस्बिर हेरेपछि धेरैले गुपचुप रुपमा उनले बिहे गर्न लागेको आँकलन गरे । तर, केहीछिनमा उनले रहस्यको पर्दा उघार्दै फेसबुकमार्फत् आफ्नो व्रतबन्ध भएको जानकारी गराए ।
प्रायः हिन्दू धर्मालम्बीहरुको बाल्यकालमै व्रतबन्ध हुने गर्छ । पुष्पले भने ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका हुन् । उनले यो उमेरमा आएर व्रतबन्ध गर्नुलाई धेरैले विवाहका लागि बाटो खुलाएको हुनसक्ने अड्कलबाजी काटेका छन् । पुष्पले पनि विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन् । उनले आफू विवाहको तयारीमा रहेको जानकारी दिए । यसै वर्ष बिहेको तयारी भैरहेको उनले बताए ।
पुष्पले फिल्मीखबरसँग भने- ‘म परिवारको जेठो छोरा भएकाले बिहेका लागि थेगिनसक्नुको दबाब छ । व्रतबन्ध गरेर बिहेका लागि बाटो खुलाएको हो भन्दा गलत हुँदैन । अब फिल्म र पारिवारिक जीवन एकसाथ अगाडि बढाउँछु । सम्भवतः यसै वर्ष विवाह हुन सक्छ । अहिले विवाहका लागि माहोल बनिरहेको छ ।’ हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको हुने पनि उनले बताएका छन् ।
यस वर्ष पुष्पका दुई फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शन भैसकेका छन् । यही माघ २७ गते उनको नयाँ फिल्म ‘मनसँग मन’ रिलिजको तयारीमा छ । उनी चाँडै फिल्म ‘एक्स ९’को छायांकनमा व्यस्त हुँदैछन् । यो फिल्मको छायांकनका लागि उनको यसै साता क्यानडाको भिसा समेत आइसकेको छ । अभिनयमा कुशल मानिने खड्काको यतिबेला नेपाली फिल्ममा राम्रो माग छ ।

