बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘पठान’ रिलिज भएसँगै अभिनेता सलमान खान स्टारर फिल्म ‘किसी का भाई किसी की जान’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४३ सेकेन्ड लम्बाईको टिजर ‘पावर प्याक्ड’ छ । सलमान खतरनाक एक्सन गर्दै प्रस्तुत छन् भने अभिनेत्री पूजा हेगडेसँगको रोमान्टिक दृश्य पनि समावेश छ । टिजर सलमान खान शैलीमा तयार छ ।
टिजरमा केही रोचक पक्ष छन् । सलमानले आफ्नो लकी चार्म ‘ब्लू बेस्लेट’ लगाएका छन् भने उनी दुई फरक लुक्समा प्रस्तुत छन् । एउटा पाटोमा सुगठिन शरीर र लामो कपालसहित देखिएका उनलाई अर्को पाटोमा छोटो कपालमा स्टाइलिस अवतारमा देख्न सकिन्छ । त्यस्तै, उनी लुंगीमा नृत्य गरिरहेको पनि हेर्न लायक छ । साउथ स्टार वेङ्कटेश दग्गुबातीको इन्ट्रीले रोचकता पैदा गर्छ ।
यो फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । फरहाद सामजीको निर्देशनमा बनेको फिल्मका निर्माता सलमान स्वयं हुन् । फिल्ममा शहनाज गिल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलाको पनि अभिनय छ । यो वर्ष सलमानको फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ । शुक्रबारबाट प्रदर्शित फिल्म ‘पठान’मा उनले १५ मिनेट लामो केमियो समेत गरेका छन्, जसलाई दर्शकले रुचाएका छन् ।

