.jpg)
फिल्म ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो काँधमा फिल्म बोकेर चलाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिन्छ । यसको मतलब उनको स्टारडम बलियो छ भनिनु हो । तर, दोस्रो फिल्म ‘ए मेरो हजुर २’पछि हलमा उनको स्टारडमको रंग देखिन सकेको छैन । तथापि, उनको माग कमजोर भएको पनि छैन । अहिलेकी उनी महंगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् ।
२०७६ सालमा प्रदर्शन भएको दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’को निराशाजनक नतिजाले अत्तालिएकी उनलाई पुषमा रिलिज भएको कमब्याक फिल्म ‘तिम्रो मेरो साथ’ले पनि सफलताको सुख दिन सकेन । यो फिल्ममा उनले १८ लाख पारिश्रमिक लिएको चर्चा छ । तर, फिल्मको एक शोज पनि हाउसफुल नभएपछि साम्राज्ञीले बुझ्ने पारिश्रमिक र स्टारडममाथि प्रश्न उठेको छ ।
साम्राज्ञी भने एउटा व्यक्तिका कारण फिल्म चल्ने वा नचल्ने भन्ने नहुने तर्क गर्छिन् । आफूले कहिल्यै आफू महंगी नायिका नभनेको पनि उनको स्पष्टिकरण छ । उनी भन्छिन्, ‘मैले कहिल्यै महंगी नायिका भनेको छैन । न त मैले यति लिन्छु भनेर भनेको छु न लेख्न लगाएको छु । र, फिल्म राम्रो भए दर्शकहरुले साथ दिनुहुन्छ । अनि, एउटाले गर्दा फिल्म बन्दैन, सिंगो टिमको मेहनतले बन्ने हो ।’
माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि प्यारी’लाई लिएर उत्साहित उनी फिल्म रोमान्टिक-कमेडी रहेको बताउँछिन् । डाइलग रोमान्टिक भए पनि परिस्थिति कमेडी भएकाले दर्शकलाई रोचक लाग्न सक्ने उनको विश्वास छ । ट्रेलरमा देखाएको कुरा जुत्ता लगाउनुअघि मोजा लगाएको जस्तो मात्र रहेको र फिल्मको मुख्य कुरा ट्रेलरमा लुकाइएको उनको भनाई छ ।

