Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दया र विपिनको ‘फूलबारी’ ट्रेलर : प्रियंका छुच्ची बुहारी

फिल्मीखबर, काठमाडौं, 2023/01/24

dayahang rai and bipin karki

 

यस वर्षको रेकर्डब्रेक फिल्म ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको ४ मिनेट ९ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली समाजको कहानीलाग्दो पाटोलाई देखाउन खोजिएको छ । बुढेसकालमा माता-पिताप्रतिको जिम्मेवारीबाट सन्तानहरु कसरी पन्छिन खोजिरहेका छन् भन्ने ट्रेलरले बोलेको छ ।

ट्रेलरमा कलाकारहरु विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतलाई स्थान दिइएको छ । ट्रेलरमा प्रियंका छुच्ची बुहारीको रुपमा चित्रित छिन् । करिब तीन हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको फिल्ममा समावेश ‘माया रैछ र’ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

फिल्ममा गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले प्रायः नेपालीले भोगिरहेकै पारिवारिक कथालाई उठाएको निर्देशक गुरुङले बताए । रामबाबुको निर्देशन तथा दुई सफल कलाकार दयाहाङ-विपिनबीचको सहकार्यले ‘फूलबारी’प्रति अपेक्षा उच्च छ ।