काठमाडौं र भक्तपुरमा गरी ५ र मोफसलमा ६ गरी ११ वटा हल सञ्चालन गरेको क्यूएफएक्स देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन हो । यो चेनमा राम्रो शो पाएर दर्शकको उपस्थिति बलियो भए मात्रै पनि एक/डेढ करोडमा बनेका नेपाली फिल्मले लगानी उठाउन सक्ने अवस्था छ । त्यसैले क्यूएफएक्समा फिल्मलाई राम्रो शो दिलाउन वितरकहरुबीच एकखालको प्रतिस्पर्धा नै हुन्छ ।
घरेलू बजारमा आफ्नो बढ्दो वर्चश्वलाई तागत मान्दै क्यूएफएक्सको म्यानेजमेन्ट टिमले नेपाली फिल्मलाई मुठ्ठीमा कस्ने प्रयास पनि गरिरहेको छ । आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेका दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’मध्ये एउटालाई काखा र अर्कोलाई पाखा गराउन खोजेको दृष्टान्तले पनि क्यूएफएक्स नेपाली फिल्ममाथि कसरी हाबी हुन खोजिरहेको छ भन्ने देखाउँछ ।

अबदेखि एकै मितिमा एकभन्दा बढी ठूला फिल्म रिलिज नगर्ने भन्दै क्यूएफएक्सले फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र रिलिज गर्ने अघोषित निर्णय नै गरेको थियो । क्यूएफएक्सले कुन आधारमा यी दुई फिल्मलाई ठूला र साना भनेर वर्गीकरण गर्यो र त्यसको मापदण्ड के हो ? यस विषयमा प्रश्न उठेपछि अन्ततः क्यूएफएक्सले फागुन १९ मा दुवै फिल्म एकसाथ चलाउने निर्णय गरेको छ ।
‘छक्का पञ्जा ४’लाई मात्र चलाउने भन्दै क्यूएफएक्सले वेबसाइटबाट ‘छड्के २’को पोस्टर हटाएको थियो । त्यसपछि ‘छड्के २’का निर्माता र वितरकलाई क्यूएफएक्सका सञ्चालकले प्रदर्शन मिति सार्न बारम्बार आग्रह गरे । तर, निर्माता र वितरक रिलिज सार्न तयार भएनन् । अन्ततः आफ्नो कुनै दाल नगलेपछि क्यूएफएक्स चेनले सोमबारबाट वेबसाइटमा ‘छड्के २’लाई पुनः राखेको छ ।
फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र रिलिज गर्ने निर्णयबाट क्यूएफएक्स चेन पछि हट्नुमा ‘छड्के २’का वितरक सुनिल मानन्धरको ढिपी सबैभन्दा ठूलो कारण हो । क्यूएफएक्सले फिल्म नचलाए पनि प्रदर्शन गर्ने उनको अडान थियो । क्यूएफएक्सका सञ्चालकले अर्को मितिमा आए सबै शो दिने वचन समेत दिएका थिए । तर, उनी टसमस नभएपछि क्यूएफएक्स घुँडा टेक्न बाध्य भएको हो ।

