Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवलप्रति अशोक शर्माको कटाक्ष- ‘हलवालाले हाछ्यूँ गरे पनि आन्दोलन गर्नुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/01/22

कुनै पनि सन्दर्भमा आक्रामक अभिव्यक्ति दिने गरेका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काप्रति कटाक्ष गर्दै संघका पूर्व अध्यक्ष तथा नेपाल चलचित्र संघका पूर्व महासचिव अशोक शर्माले हलवालाले हाछ्यूँ गर्दा पनि उनमा आन्दोलन गर्नुपर्छ भन्ने लाग्ने गरेको बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले नाम नखुलाई बुझ्ने भाषामा खड्काप्रति कटाक्ष गरेका हुन् ।

 

ashok sharma and nawal khadka


नवलप्रति लक्षित गर्दै शर्माले हलभित्र फिल्म चलिरहँदा जोडसित ब्याकग्राउन्ड म्यूजिक बज्यो भने पनि आन्दोलन गर्नुपर्छ भन्ने रोग लागेको भनेर हल्ला चलेको उल्लेख गरेका छन् । केही दिनअघि निर्माता संघको भेलामा नवलले सेयर बाँडफाँटको प्रतिशतमा परिवर्तन, हलमा ट्रेलर निःशुल्क बजाउनुपर्ने जस्ता माग अगाडि सार्दै यी कुरा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शर्मा फेसबुकमा लेख्छन्, ‘निर्माता मित्रहरूको हलसित केही समस्या छ, जस्तै सेयरको बराबरी बाँडफाँड, निःशुल्क ट्रेलर प्रदर्शन, सम्मानजनक शो र तुरुन्त शेयर रकमको भुक्तानी आदि । हलवालाहरूको पनि केही समस्या छ, जस्तै चलचित्र विकास शुल्क, बेला बेला चलचित्र विकास बोर्डको हेपाहा मनोवृत्ति आदि ।’ दुवै संस्थाले मिलेर समस्याको समाधान गर्नुपर्ने अशोकको सुझाव छ ।

‘यो समस्या समाधान गर्ने हो भने एकअर्काको समस्यामा साथ दिएर हातेमालो गर्ने, एकअर्काको सम्मान गरेर विश्वासको वातावरण बनाउने, यसरी अघि बढे भने समाधानको ढोका चाँडो खुल्छ । अन्यथा ती मित्रलाई एन्जाईटी रोग हुने सम्भावना बढी छ,’ उनले लेखेका छन् । शर्माको स्टाटसको कमेन्टमा प्रदीप कुमार उदयले एकअर्काको अस्तित्व नस्वीकारेसम्म केही नहुने बताएका छन् ।

नेपाल चलचित्र संघका पूर्व अध्यक्ष, निर्माता तथा राप्रपाका नेता समेत रहेका उनी लेख्छन्, ‘निर्माण, वितरण र प्रदर्शन एकअर्काको परिपूरक हो । साथै, यो तिनै पक्ष व्यवसायसँग प्रत्यक्ष रुपमा जोडिएको छ । तर, व्यवसायिक बन्न सकेनौं र अनावश्यक बिषयमा अल्मलिएका छौं । तिनै पक्ष एक हुन नसक्दा फिल्म उद्योग स्थापित हुन सकेको छैन ‌। यो हुन नसक्दा अवस्था नाजुक बनेको छ ।’