Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आगामी दशैं हारालुछ : थपिँदै फिल्म

फिल्मीखबर, काठमाडौं, 2023/01/21

three nepali movie

 

विजयादशमी नेपालीहरुका लागि जति महान् पर्व मानिन्छ, त्यत्तिकै महान् समय हो नेपाली फिल्मका लागि । लामो विदा र रमाइलो माहोल हुने भएकाले नेपाली फिल्म प्रदर्शनका लागि यो सबैभन्दा उपयुक्त समय हो । र, दशैं विदामा प्रदर्शन भएका फिल्मले अरु समयभन्दा राम्रो व्यापार गरेका उदाहरण छन् । यसैले दशैं कब्जा गर्न निर्माताहरुबीच एक वर्ष अगावैदेखि रस्साकस्सी हुने गर्छ ।

आगामी दशैंका लागि अहिलेदेखि निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालिसकेका छन् । केही दिनअघि फिल्म ‘भष्मे डन’ले २०८० सालको दशैंलाई प्रदर्शन मिति निश्चित गर्‍यो । दीपेन्द्र के. खनालको निर्देशन रहने यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, खगेन्द्र लामिछानेलगायतको मुख्य भूमिका रहनेछ । डिसिएनले फिल्मको वितरण अधिकार लिएको छ ।

आगामी दशैंमा ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शन हुने भएको छ । शुक्रबार निर्देशक गुरुङले नाटक ‘डिग्री माइला’माथि फिल्म बन्न लागेको जानकारी दिँदै दशैंमा रिलिज हुने घोषणा गरेका छन् । फिल्ममा अभिनेता दयाहाङ राईको अभिनय रहनेछ । तर, दशैंमा कुन मितिमा रिलिज गर्ने भन्ने दुवै फिल्मले निश्चित गरेका छैनन् ।

आगामी दशैंमा दिनेश राउतको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्म पनि प्रदर्शन हुँदैछ । चर्चित गायक स्वप्न सुमनको मुख्य भूमिका रहने लभस्टोरी फिल्मलाई २०८० सालको दशैंमा रिलिज गरिने निर्देशक राउतले बताएका छन् । आगामी दशैंमा फिल्म प्रदर्शन गर्ने योजनामा अरु निर्माताहरु पनि छन् । कसैले खुट्टा नकमाए अर्को दशैंमा नेपाली फिल्मबीच महासंग्राम हुने देखिन्छ ।