यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको ‘ह्यारी कि प्यारी’का कलाकारहरु जितु नेपाल, साम्राज्ञी आरएल शाह विजय बराल, निर्देशक डा. कपिल रिजाललगायतले मोफसल दौडाहाको क्रममा बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईसँग भेट गरेर उनको वृक्षारोपण अभियानमा सघाउँदै करिब ५० हजार बराबरको सयवटा रुद्राक्षको बिरुवा प्रदान गरेका छन् ।
.jpg)
निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले प्रभावित भएकाले धरान आएको मौकामा बिरुवा उपहार लिएर भेट गरेको बताए । उनले भने, ‘धरानसँग मेरो बाल्यकाल जोडिएको छ । म यहीँ हुर्केर पढेको हुँ । देश दौडाहामा आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । खाली हात के भेट गर्नु भनेर सयवटा रुद्राक्षको बिरुवा लिएर आयौं । हामी नरहे पनि यी रुखहरु रहिरहने छन् ।’
साम्राज्ञीले साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउँदै ‘ह्यारीकी प्यारी’ पनि हेरिदिन आग्रह गरिन् । त्यस्तै, जितुले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिँदै फिल्मको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब-३’ मा आतिथ्यता ग्रहणको निम्तो समेत दिए । बिहीबार निर्देशक मिलन चाम्स, कलाकार विजय लामालगायत पनि साम्पाङलाई भेट्न पुगेका थिए ।
साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै फिल्मलाई व्यवसायिक सफलताको शुभकामना दिए । ‘यो फिल्म अत्यन्त राम्रो भनेको छ भन्ने मलाई विश्वास छ । यसमा मनोरञ्जनका साथै सन्देश पनि होला । हामीले फिल्म हेरेपछि राम्रो कुराहरु सिक्नेमा विश्वस्त छु,’ उनले भने । उनले युवा अवस्थामा आफूले धेरै फिल्महरु हेर्ने गरेको र त्यसबाट धेरै सिक्न पाएको स्मरण गरे ।
.jpg)
‘अमेरिकाको रहनसहन, संस्कृतिको बारेमा सिक्नु छ भने म त्यहाँ गइराख्नु पर्दैन । त्यहाँको फिल्म गर्दा धेरै बुझिन्छ । त्यसले गर्दा फिल्मबाट धेरै सिक्न पाइन्छ,’ उनले अगाडि भने, ‘मलाई त पछि-पछि बच्चाहरुको पठनपाठन पनि फिल्ममै हुन्छ कि जस्तो लाग्छ । किनकि, त्यहाँ रुचिका चिज हुन्छन् । कथावस्तु, साउन्ड, भिजुअल इफेक्ट सबै हुन्छ । र, भिजुअल मिडियममा जानु पनि पर्छ ।’

