Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कामभन्दा हल्ला ठूलो : अनमोलले छाडे ‘एक्स ९’

फिल्मीखबर, काठमाडौं, 2023/01/20

Anmol Kc

 

साइन गरेर फिल्म छाड्ने मामलामा अभिनेता अनमोल केसीको नाम अगाडि आउँछ । ‘ब्याचलर बन्टी’, ‘हनी बनी’पछि उनले फेरि अर्को फिल्मबाट हात झिकेका छन् । लकडाउनको समयमा सम्झौता गरेको फिल्म ‘एक्स ९’बाट उनी बाहिरिएका हुन् । निर्धारित समयमा छायांकन सुरु नभएको र आफूले अरु फिल्मलाई समय दिनुपर्ने भएकाले फिल्म छाडेको उनले जानकारी दिएका छन् ।

उनले निर्मातालाई फिल्म साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गरिसकेका छन् । लकडाउनमा अनमोलले फिल्मका लागि शरीर कसिलो बनाउन राम्रै मिहिनेत गरेका थिए । शाकाहारी उनले माछा-मासु समेत खाना थालेका थिए । उनले केही महिना एक्सनको तालिम समेत लिए । तर, निर्माताहरुबीच उत्पन्न असमझदारीका कारण फिल्म निर्माण हुन नसक्दा उनको मिहिनेत पनि खेर गयो ।

गत साउनमा निर्माता तथा निर्देशक मुकुन्द भट्टले नीति शाहलाई अभिनेत्रीमा भित्राउँदै फिल्म निर्माण नहुने भन्ने बजारको हल्लालाई चिरेका थिए । लोकेशन हेर्न उनी क्यानडा समेत पुगे । त्यस मौकामा उनले ‘हिम्मतवाली’ फिल्मका हिरो सुदर्शन थापालाई पनि कलाकारमा अनुबन्धित गरे । तर, एकपछि अर्को कलाकारसँग सम्झौता गर्नेबाहेक फिल्मको अरु केही काम हुन सकेको देखिन्न ।

फिल्ममा बलिउड सुपरस्टार सुनिल सेट्टीको पनि अभिनय रहने भन्दै निर्माण टिमले ठूलै डंका पिट्यो । तर, निर्माता र निर्देशकले सुनिलसँग मुम्बईमा फोटो खिचाउनेभन्दा अरु उपलब्धि हुन सकेको छैन । यस फिल्ममा पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाहीलगायतका कलाकार पनि अनुबन्ध भैसकेका छन् । तर, कामभन्दा हल्ला ठूलो हुँदा ‘एक्स ९’को निर्माण अन्योल बनेको छ ।