
कात्तिकमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’पछि नेपाली फिल्म क्षेत्र कोमा गएको छ । बैशाखदेखि कात्तिकसम्मको अवधि सुखद् देखिए पनि मंसिर र पुषमा प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेनन् । जसले फिल्म क्षेत्रमा चरम निराशा छाएको छ भने निर्माताहरु फिल्म रिलिज गर्न तर्सिएको अवस्था छ । नाम चलेका कलाकारका फिल्मलाई समेत दर्शकले पत्याएका छैनन् ।
अघिल्लो हप्ता बक्सअफिसमा दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रतिस्पर्धामा उत्रिएका थिए । तर, दुवैको आयू एक हप्ता मात्र रह्यो । प्रायः हलहरुबाट दुवै फिल्म उत्रिसकेका छन् । तर, रोचक कुरा के छ भने देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले नाम चलेका कलाकारहरुको जत्था रहेको ‘तिम्रो मेरो साथ’लाई एक हप्तामै उतारेर दोस्रो हप्ताका लागि ‘गुञ्जन’लाई काखी च्यापेको छ ।
क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने ‘तिम्रो मेरो साथ’को नाम निशाना छैन । ‘गुञ्जन’लाई भने दोस्रो हप्तामा पनि राखिएको छ । यो फिल्ममा सारा सिपालीबाहेक दर्शकले चिनेका अरु कलाकार छैनन् । ‘तिम्रो मेरो साथ’मा भने महंगा र स्टार कहलिएका साम्राज्ञी आरएल शाह, पुष्प खड्का जस्ता कलाकार छन् । तर, क्यूएफएक्सले दोस्रो हप्तामा ‘गुञ्जन’लाई मात्र राख्नुको कारण अर्थपूर्ण छ ।
(अहिले क्यूएफएक्समा प्रदर्शनरत फिल्महरु)
क्यूएफएक्सको म्यानेजमेन्ट टिमले व्यापारको आधारमा शो घटबढ तथा दोस्रो हप्तामा राख्ने वा नराख्ने भन्ने तय गर्छ । र, यो चेनबाट लगभग देशभरको आँकडा थाहा हुन्छ । यसकारण क्यूएफएक्सले पहिलो हप्ता ‘तिम्रो मेरो साथ’भन्दा ‘गुञ्जन’को व्यापार केही राम्रो भएकाले दोस्रो हप्ताका लागि काखी च्यापेको स्पष्ट छ । स्टारभन्दा कन्टेन्ट शक्तिशाली हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो ।

