.jpg)
अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता सुवेक्क्षा खड्काले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार काठमाडौंको एक होटलमा दुई पक्षको परिवारको उपस्थितिमा उनीहरुले एकअर्कासँग औंठी साटासाट गर्दै विवाहको वाचा गरेका हुन् । यो जोडीको इन्गेजमेन्ट कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठलगायत सहभागी थिए ।
गत महिना आश्वासनले आफ्नो जन्मदिनमा सुवेक्क्षालाई फिल्मी शैलीमा हिराको औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए । सुवेक्क्षाले पनि औंठी स्वीकार गर्दै विवाहका लागि मञ्जुरी जनाएकी थिइन् । उनीहरुबीच विवाहको मिति तय भए वा नभएको बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन । तर, स्रोतका अनुसार, उनीहरु यस वर्ष नै विवाह बन्धनमा बाँधिने योजनामा छन् ।

सुवेक्क्षाले फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, पहिलो फिल्मले व्यवसायिक सफलता हासिल गर्न नसक्दा हच्किएकी उनले लकडाउनको समयमा फिल्म ‘प्रेमा’मा काम गरेकी थिइन् । ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीद्वारा निर्देशित यो लभस्टोरी फिल्म आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ । खड्का बढीजसो स्टेज कार्यक्रममा व्यस्त हुने गर्छिन् ।

