रीमा विश्वकर्मालाई फिल्मभन्दा उद्घोषण पेशा बढी फापेको छ । हुन त उनको करिअरको सुरुवात नै उद्घोषणबाट भएको थियो । त्यसपछि म्यूजिक भिडियो हुँदै फिल्म ‘स्वर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले करिअरको करिब एक दशकको अवधिमा अभिनय गरेका कुनै पनि फिल्म व्यवसायिक रुपमा सफल भएका छैनन् । उनलाई चिनाउन समेत टिभी रियालिटी शोको हात छ ।
‘नेपाल आइडल’को सुरुका दुई सिजन उद्घोषण गरेपछि दर्शकको ठूलो वर्गमा चिनिन सफल उनी अहिले ‘कमेडी च्याम्पियन’मा आबद्ध छिन् । यसले पनि उनको लोकप्रियता चुल्याउन मद्दत गरेको छ । उद्घोषणसँगै उनले अभिनयलाई पनि प्राथमिकतामा राख्ने गरेकी छन् । तर, समकालीन अभिनेत्रीहरु केकी अधिकारी, बेनिशा हमाल जस्तो उनी लगातार फिल्ममा भने काम गर्दिनन् ।
लकडाउनअघि उनले फिल्म ‘मिस्टर नेपाली’ र ‘हिजो आजका कुरा’मा काम गरेकी थिइन् । झन्डै तीन वर्ष उनले नयाँ फिल्म साइन गरेको खबर सुनिएको थिएन । यसै हप्ता उनले फिल्म ‘सिड्नी’मा काम गर्ने सम्झौता गरेकी छन् । देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा उनको जोडी अभिनेता सविन श्रेष्ठसँग बाँधिनेछ । आगामी बैशाख छेकोबाट उनी यो फिल्मको सुटिङमा व्यस्त हुनेछिन् ।
कम फिल्म गर्नुको कारण रीमा चुजी भएर हो या मेकरले फिल्मका लागि फकाउन नसकेका हुन् ? ‘सिड्नी’को घोषणा कार्यक्रममा पत्रकारले सोधेको यो प्रश्नमा उनले आफ्नो प्राथमिकता अरुमा रहेकाले कम फिल्म गरेको प्रष्ट्याइन् । ‘म चुजी भएको पनि होइन र मेकरले फिल्मका लागि फकाउन नसक्नुभएको पनि होइन । प्राथमिकता अरुमा थियो । तर, काम गरिरहेकै थिएँ,’ उनले भनिन् ।
आफ्नो प्राथमिकतामा अरु कामहरु पनि पर्ने भएकाले संख्यात्मक रुपमा कम फिल्म भएको उनको भनाई छ । उद्घोषण र फिल्म जे गर्दा पनि आफूले त्यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको उनी बताउँछिन् । यतिबेला ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको तयारीमा उनी छिन् । उद्घोषकको रुपमा ठूला व्यवसायिक कार्यक्रमहरुमा पनि उनको सर्वाधिक खोजी हुने गरेको छ ।

