भारतका प्रख्यात गायक-गायिका दम्पती उदित नारायण झा र दीपा नारायण झाले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा ५ लाख १ सय एघार सहयोग गरेका छन् । एक कार्यक्रमको शिलशिलामा नेपाल आएको मौकामा गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीलाई साक्षी राख्दै कोषकी संयोजक बसुन्धरा भुषाललाई हस्तान्तरण गरेकी हुन् ।
गायिका झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले संयुक्त रुपमा १ लाख १ सय ११ रुपैयाँ, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले ५१ हजार १ सय ११ रुपैयाँ र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय ११ रुपैयाँ चलचित्रकर्मी कल्याणकारी कोषलाई हस्तान्तरण गरे ।

चलचित्रकर्मीहरु गम्भिर बिरामी हुँदा, दुर्घटनामा परी उपचाररत हुँदा, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोषको स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको संयोजक भुषालले जानकारी दिइन् । यसको लक्ष्य १० करोडको रहेको उनको भनाई छ । कोषका लागि सहयोग जुटाउन उनको ठूलो भूमिका छ ।
मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र समेत प्रदान गरियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज-दीपाश्री र गीता नेपालको उपस्थिति थियो । साथै, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायत पनि उपस्थित थिए ।
गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय विताएको क्षेत्रमा सानो भए पनि आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफूले नेपाली फिल्मका गीतहरुबाट नै उचाईं प्राप्त गरेको उनले स्मरण गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कोषलाई यस प्रकारको सहयोगको अपेक्षा राखेको बताए ।

