(4)(1).jpg)
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका लोकप्रिय अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ । मंगलबार न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाई दिइएको हो । बहसमा शाहको पक्षबाट ५ जना कानून व्यवसायी र जाहेरवालाको तर्फबाट एक जना मात्र सरकारी वकिल सहभागी थिए ।
सोही मुद्दामा गत भदौ २९ गते शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । यो फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन समेत दिइसकेका छन् । २०७८ सालको फागुनमा ती नाबालिगका पिताले पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए ।
जाहेरी परेपछि पल तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । पछि तनहुँ र नवलपुर जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका पिताले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही पनि नभएको रहेछ’ भन्दै बयान फेरेका थिए । तनहुँमा करणी हुँदा ती नाबालिग १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।
के पल अब छुट्छन् ?
तनहुँ अदालतले उनलाई सफाई दिए पनि नवलपुर अदालतले २ वर्ष ६ महिना जेल सजाय तोकेकाले उनी जेलमुक्त भने हुने छैनन् । नवलपुर अदालतको फैसलाअनुरुप उनले जेल जीवन विताउनु पर्नेछ । तर, नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत कास्कीमा पुनरावेदन दिएकाले त्यस अदालतले उनलाई निर्दोष ठहर गरे वा धरौटीमा छाड्न आदेश दिए मात्र उनी रिहा हुनेछन् ।

