.jpg)
यही माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शन हुन लागेको फिल्म ‘सरी मम’ले दर्शकलाई लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ । निर्माण टिमले आफ्नो आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक्स पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार प्रदान गर्ने भएको छ ।
यो अफर माघ महिनाभरलाई लागू हुनेछ । निर्माता विनोद लामाले फिल्मको दुईवटा टिकट किन्दा दर्शकले एउटा टिकट सित्तैमा पाउने पनि जानकारी दिए । हलवालासँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताए । त्यस्तै, बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्मको टिकट लिएर आउने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।
लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको फिल्म पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरुमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा पुर्याउने निर्माता लामाले बताए । ‘हाम्रो फिल्म सामाजिक सन्देशमुलक फिल्म हो । बालबच्चा र किशोर भएका हरेक परिवारका सदस्यले यो फिल्म हेर्नैपर्ने अभियान लिएर देशव्यापी सन्देश पुर्याउने उद्देश्य लिएका छौं,’ लामाले भने ।
यो फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको मुख्य भूमिका छ । दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको फिल्मलाई आयुष वुढाथोकी र सरोज पौडेलले लेखेका हुन् । सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ फिल्मको निर्माता हुन् ।

