Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

आर्यन र प्रदीपलाई लिएर बायोपिक फिल्म बनाउँदै राउत

फिल्मीखबर, काठमाडौं, 2023/01/17

aaryan sigdel, dinesh raut and pradeep khadka

 

फिल्म निर्देशनमा आफूलाई परिपक्व बनाउँदै लगेका निर्देशक हुन्, दिनेश राउत । ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्मबाट प्रेम सिकाउने निर्देशकको परिचय बनाएका उनले ‘प्रसाद’ र ‘प्रकाश’ फिल्मबाट नेपाली समाजभित्रको गम्भीर र संवेदनशील मुद्धालाई पस्किएर निर्देशनमा नयाँ उचाईं हासिल गरेका छन् । अब उनलाई हलुका भएर काम गर्न अनुमति छैन ।

‘प्रकाश’पछि मौन झैं रहेका दिनेश यतिबेला दुईवटा प्रोजेक्टको तयारीमा छन् । सम्भवतः चाँडै नै उनले निर्देशन गर्ने एक लभस्टोरी फिल्मको घोषणा हुनेछ । अर्को प्रोजेक्ट भने २०८० सालको अन्तिमतिर निर्माण हुन सक्नेछ, जसको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । करिब ६०-७० वर्ष अगाडिको कथामा निर्माण हुने फिल्म बायोपिक रहेको उनले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्काको अभिनय रहनेछ । तर, दुवैसँग कागजी सम्झौता भएको छैन । निर्देशक राउतसँग दुवै नजिक रहेकाले मौखिक सहमति भने भैसकेको छ । दिनेशले भने, ‘यो फिल्मको प्रि-प्रोडक्सनमा लामो समय लाग्छ । डेढ-दुई वर्षै लाग्ला । त्यसैले अहिले धेरै कुरा भन्न सकिँदैन । यो बायोपिक हो । यसमा आर्यन र प्रदीपलाई लिने मेरो सोच हो ।’

‘क्लासिक’पछि दिनेश र आर्यनबीच सहकार्य हुन लागेको हो । बीचमा उनीहरुबीच एक प्रोजेक्टको तयारी भए पनि त्यसले आकार लिन सकेन । कुनै बेला आर्यनको खस्किँदो करिअर बचाउन दिनेशले ‘नोभेम्बर रेन’मार्फत् ठूलो भूमिका खेलेका थिए । उनीहरु मिल्ने साथी समेत हुन् । आजभोली राउत प्रदीपसँग नजिक छन् । अब उनी आफ्ना दुई प्रिय पात्रलाई एकसाथ पर्दामा उतार्दैछन् ।