Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.33/5.00)
Text size:-
+
-

साम्राज्ञीले ‘तिम्रो मेरो साथ’लाई अलपत्र छाडेको सन्तोष सेनको आरोप

फिल्मीखबर, काठमाडौं, 2023/01/17

अभिनेत्री साम्राज्ञी आरएल शाह तीन वर्षपछि फिल्म ‘तिम्रो मेरो साथ’मार्फत् दर्शकमाझ पुगेकी छन् । यो फिल्मप्रति उनलाई ठूलो अपेक्षा थियो । लगातार आफ्ना फिल्महरु असफल भैरहेको अवस्थामा यसले राहत दिने विश्वासमा उनी थिइन् । तर, शुक्रबारबाट प्रदर्शित फिल्मले सुखद् कमाई गर्न सकेको छैन । मल्टीप्लेक्सहरुमा घट्दो शोले पनि फिल्मलाई दर्शक अभाव रहेको बुझाउँछ ।

 

Samragyee R L Shah and santos sen


प्रदर्शनपूर्व साम्राज्ञीले फिल्मको प्रचारमा राम्रै दौडधुप गरेकी थिइन् । एक हप्ता उपत्यकाबाहिरका विभिन्न शहर पुगेर प्रचार गरिन् । काठमाडौंमा पनि उनी दिनरात खटिइन् । तर, रिलिजको भोलिपल्टैबाट उनले यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ फिल्म ‘ह्यारी कि प्यारी’लाई काखी च्यापिन् । यतिबेला उनी यो फिल्मको प्रचारका खातिर मोफसल दौडाहामा छिन् ।

उनले अर्को फिल्मलाई साथ दिएपछि यतिबेला ‘तिम्रो मेरो साथ’ले अभिनेताद्वय पुष्प खड्का र सन्दीप क्षेत्रीको मात्र साथ पाएको छ । शनिबार विभिन्न हल पुगेर पुष्प र सन्दीपले दर्शकसँग साक्षात्कार गरे । सोमबार राजधानीमा आयोजित स्पेशल स्क्रिनिङमा पनि उनीहरुकै उपस्थिति थियो । प्रदर्शनपछि फिल्मलाई बेवास्था गरेको भन्दै निर्माण टिम साम्राज्ञीप्रति असन्तुष्ट रहेको स्रोत बताउँछ ।

साम्राज्ञीले फिल्म रिलिजलगत्तै साथ छाडेकोप्रति लक्षित गर्दै ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले निर्माताको पीडा बुझ्न आग्रह गरेका छन् । ‘तिम्रो मेरो साथ’को पोस्टर फेसबुकमा शेयर गर्दै उनले एउटा फिल्म बनाउन ४/५ सयको मिहिनेत लाग्ने, करोडौंको लगानी र वर्षौंको समय लाग्ने तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार रहेको भन्दै साम्राज्ञीप्रति पेचिलो कटाक्ष गरेका छन् ।

 

timro mero satha


‘हाम्रो चलचित्र उद्योग बामे सर्दैछ, हिँड्न सकेको छैन । कसैले फुर्ती नलगाए हुन्छ । लगानी आउने ०.५ प्रतिशत ग्यारेन्टी नहुँदा नहुँदै यत्रो चुनौती मोलेको अवस्थामा कम्तिमा प्रदर्शनको २/३ दिन त साथ दिनुपर्छ, चिन्तित हुनुपर्छ । आत्मारतीमा रमाउनभन्दा पनि सिंगो क्षेत्रलाई अगाडि लिएर जानुपर्छ भन्ने सोच पालौं । ‘तिम्रो मेरो साथ’ मनोरञ्जनात्मक चलचित्र हल हलमा,’ उनी लेख्छन् ।

उनको स्टाटसमा ‘तिम्रो मेरो साथ’का निर्देशक तथा निर्माता रमेश एमके पौडेलले दुईवटा कमेन्ट गरेका छन् । पहिलो कमेन्टमा उनले सेनलाई धन्यवाद दिएका छन् भने दोस्रो कमेन्टमा ‘यो कटु सत्यका लागि धन्यवाद’ भनेका छन् । उनी साम्राज्ञीले रिलिजपछि साथ छाडेकोप्रति असन्तुष्ट रहेको यसबाट पनि बुझिन्छ । सेनको भनाईमा निर्देशक शोभित बस्नेतले पनि सहमति जनाएका छन् ।