Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भष्मे डन’ आगामी वर्षको दशैंमा, खगेन्द्रको पनि अभिनय रहने

फिल्मीखबर, काठमाडौं, 2023/01/16

bhasme don

 

फिल्म निर्माण नहुँदै प्रदर्शन मिति तोक्ने होडबाजी नेपालमा बढ्दो छ । विशेषगरी, लामो सार्वजनिक विदा हुने मितिलाई मध्यनजर गर्दै १ वर्ष अगावै प्रदर्शन मिति घोषणा गरिन्छ । निर्माणको चरणमा रहेको फिल्म ‘भष्मे डन’ले पनि करिब १० महिना अगाडि नै प्रदर्शनको समय निश्चित गरेको छ । आइतबार डिसिएनलाई वितरण अधिकार सुम्पिँदै आगामी दशैंलाई प्रदर्शन तय गरिएको हो ।

डिसिएनका प्रमुख अशोक शर्माले फिल्मका निर्माताद्वय खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनालसँग वितरण सम्झौतापछिको तस्बिर फेसबुकमा राख्दै २०८० सालको दशैंमा ‘भष्मे डन’ प्रदर्शन हुने उल्लेख गरेका छन् । उनले मिति भने तोकेका छैनन । परिस्थिति हेरेर घटस्थापना वा फूलपातीमा रिलिज गर्ने योजनामा वितरक र निर्माता छन् । दशैंबाट फिल्म पछाडि नसर्ने जानकारी प्राप्त छ ।

फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने वा नरहने विषयमा निर्देशक दीपेन्द्र के. खनाल मौन थिए । अशोक शर्माले भने खगेन्द्रको पनि अभिनय रहने स्टाटसमार्फत् खुलाएका छन् । यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अनुबन्ध भैसकेका छन् ।

फागुन १२ गतेबाट छायांकन सुरु हुने फिल्ममा विपिनले भष्मे डनको भूमिका निर्वाह गर्नेछन् । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखिरहेका छन् । ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’को कथालाई उठान गरिनेछ । ‘पशुपति प्रसाद’को अन्तिममा भष्मे डन केही परिवर्तन हुन खोजेको देखिएको थियो । त्यहाँबाट आजसम्मको उसको यात्रालाई फिल्ममा देखाइनेछ ।