फिल्म कसका लागि बनाइन्छ ? कलाकारले कसका लागि काम गर्ने हो ? यसको जवाफ एउटै छ, ‘दर्शकका लागि ।’ जब दर्शककै लागि फिल्म बन्छ र दर्शककै खातिर कलाकारले काम गर्ने हो भने दर्शकप्रति जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ कि छैन ? र, के नेपाली मेकर र कलाकार दर्शकप्रति जिम्मेवार भएर काम गरिरहेका छन् ? यो गम्भीर रुपमा मनन् गर्न आवश्यक कुरा हो ।
तर, अभिनेत्री रीमा विश्वकर्मा कलाकार दर्शकभन्दा कामप्रति जिम्मेवारी बढी हुनुपर्ने धारणा राख्छिन् । आइतबार एक कार्यक्रममा पत्रकारले सोधेको ‘कलाकार दर्शकप्रति जिम्मेवार हुनु पर्दैन् ?’ भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘कलाकारको जिम्मेवारी आफूलाई दिएको काम जिम्मेवार भएर आफ्नो कला निखार्ने हो । फिल्म कस्तो बनाउने भन्ने हाम्रो होइन, निर्देशकको हातमा रहने कुरा हो ।’
पत्रकारले पुनः प्रश्न गरे, ‘त्यसो भए दर्शकप्रति कलाकारको जिम्मेवारी रहँदैन् ?’ जवाफमा रीमा भन्छिन्, ‘हाम्रो जिम्मेवारी आफ्नो कलाकारितालाई निखार्दै जाने हो । कसरी राम्रो कलाकार बन्ने र हामीलाई दिएको चरित्रलाई कसरी न्याय गर्ने भन्ने हो । यो चाहिँ हाम्रो जिम्मेवारी हो ।’ समाजलाई असर नपर्ने खालको काम गर्नु नै कलाकारको सामाजिक उत्तरदायित्व रहेको रीमाको भनाई छ ।
आइतबार काठमाडौंमा फिल्म ‘सिड्नी’को घोषणा सभामा रीमा र पत्रकारबीच यो सवाल-जवाफ भएको थियो । खासमा अभिनेता सविन श्रेष्ठलाई पत्रकारले सोधेको ‘गएको दुई-तीन वर्षमा प्रदर्शन भएका फिल्म के तपाईंले समय विताउनलाई गर्नुभएको थियो ?’ भन्ने प्रश्नले रिसको पारो तताएपछि रीमा दर्शकप्रति कलाकार जिम्मेवार हुनुपर्छ कि पर्दैन भन्ने विषयको बहसमा उत्रिएकी थिइन् ।
कुनै निर्धारित पेशामा एक दशकभन्दा लामो समय विताइसकेको कलाकारलाई समय विताउन फिल्म गर्नुहुन्छ भन्ने प्रश्न गर्न शोभा नदिने रीमाको तर्क छ । सविनले भने कुनै निर्माताले कम राम्रो फिल्म बनाउँछु भनेर नबनाउने र आफूहरुले पनि उतिक्कै मिहिनेत गर्ने बताए । सविनलाई पत्रकारको प्रश्नको जवाफ दिन गाह्रो भैरहेको देखेपछि माइक लिँदै रीमा उनको बचाउमा उत्रिएकी थिइन् ।
त्यसो त फिल्मको घोषणा सभामा रीमा नै बढी हावी देखिएकी थिइन् । निर्माता र निर्देशकलाई सोधेको प्रश्नमा समेत उनी नै जवाफ दिन हतारिन्थिन् । कार्यक्रमको सुरुवातमै उद्घोषक नरेश भट्टराईले उनलाई ‘बौद्धिक अभिनेत्री’ भन्दै प्रशंसाको पूल बाँधेकाले पनि उनलाई सबैको जवाफ आफैंले दिनुपर्छ भन्ने लागेको हुनसक्छ । जसले गर्दा उक्त कार्यक्रम उद्देश्यभन्दा विपरितमा बगेको थियो ।

