Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

शोभित बस्नेतको कटाक्षप्रति साम्राज्ञीको जवाफ- ‘खुट्टा तान्न मन लाग्छ भने तान्नुस्’

फिल्मीखबर, काठमाडौं, 2023/01/15

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत नयाँ फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारबाट प्रदर्शनरत छ । उनको स्टारडमले फिल्मको इनिसियल व्यापार सुखद् हुने विश्लेषण गरिएको थियो । तर, फिल्मको दुई दिने व्यापार अपेक्षाकृत हुन सकेन । त्यसो त फिल्मले प्रतिक्रिया पनि गतिलो पाएको छैन । फिल्मले निकै कमजोर व्यापार गरेपछि यतिबेला साम्राज्ञीको खिसिटिउरी गर्न थालिएको छ ।

निर्देशक शोभित बस्नेतले शनिबार फेसबुकमा उनलाई कटाक्ष गर्दै लेखेका छन्, ‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’ हुन त उनले नाम खुलाएका छैनन् तर उनको निशाना साम्राज्ञी हुन भन्ने बुझ्न सकिन्छ । त्यसो त उनीहरुबीच बानी बाराबारझैं छ । निर्देशक शोभितले साम्राज्ञीलाई समय-समयमा विभिन्न विषयमा राम्रै घोचपेच गरिरहेका हुन्छन् ।

 

Samragyee R L Shah and shovit basnet


शोभितको कटाक्षप्रति साम्राज्ञीले शान्त शैलीमा पेचिलो जवाफ फर्काएकी छन् । ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएसँगै शनिबारबाट आफू अभिनीत नयाँ फिल्म ‘ह्यारी कि प्यारी’को मोफसल यात्रामा निस्किएकी उनले चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो खुट्टा तानेर कोही खुसी हुन्छ भने आफ्नो भन्नु केही नभएको बताएकी छन् । उनले बस्नेतलाई फुर्सदिलो व्यक्ति समेत भनेकी छन् ।

‘उहाँसँग काम छैन, खुट्टा तान्न मन लाग्छ भने गर्न दिनुस् । हामीले आफ्नो काम गर्छौं, उहाँले आफ्नो काम गर्नुहुन्छ । मैले उहाँलाई अहिलेसम्म भेटेको पनि छैन । उहाँले रमाइलो गरिराख्नु भएको छ, गर्नुस् । उहाँको स्टाटसबारे केही भन्नु छैन । ‘ह्यारी कि प्यारी’ पनि हेर्न आउनुहोला र केही लेख्नु छ भने लेख्नुस्,’ उनले भनिन् । उनले कलाकारले गर्दा मात्र फिल्म नचल्ने पनि बताएकी छन् ।

‘धेरैले मेरो कारण फिल्म चल्छ भन्ने हिसाबले हेर्नुहुन्छ । कलाकारका लागि त त्यो प्रेसर हो । यसले मलाई पनि केही चुनौती महसुस त हुन्छ । मलाई त्यो दृष्टिकोणले हेरिदिनु मेरो लागि ठूलो कुरा हो, तर मैले त्यसरी कहिल्यै सोचेको छैन,’ उनी भन्छिन्, ‘फिल्ममा मैले एउटा पात्र खेलेको हुन्छु । अनि, फिल्म मेरो कारणले मात्र बनेको हुँदैन, टिमको मिहिनेत हुन्छ । कुनै चल्छ त कुनै चल्दैन ।’

फिल्म नचल्नुको दोष कलाकारलाई मात्र दिन नमिल्ने तर्क गर्दै उनले फिल्म आफैं बोल्न थालेपछि दर्शक आउने धारणा राख्छिन् । फिल्म इन्डस्ट्रीमा एकअर्काको खुट्टा तान्ने प्रवृति रहेको बताउँदै उनले यो प्रवृति त्यागेर एकअर्कालाई साथ दिएर अगाडि बढ्नु पर्ने बताएकी छन् । अहिलेको समयमा पनि सोच नबदलिएका मान्छेलाई समय अथवा परिस्थितिले परिवर्तन गर्ने साम्राज्ञीको भनाई छ ।