
यस वर्षको सुपरहिट फिल्म ‘प्रेमगीत ३’पछि करिब दुई महिना मौन रहेका अभिनेता प्रदीप खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले यही शुक्रबार दीपक वलीको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्म सम्झौता गरेका हुन् । स्क्रिप्ट र चरित्रबाट प्रभावित भएका उनले महंगो पारिश्रमिकमा फिल्म साइन गरेको बताइएको छ । आगामी मार्च (चैत) बाट फिल्मको छायांकन सुरु हुनेछ ।
ब्राजिल र मेक्सिकोमा सुटिङ हुने फिल्म यात्राको कथामा आधारित हुने जानकारी प्राप्त छ । फिल्मको नाम पनि यात्रामा आधारित राख्ने तयारीमा निर्माण पक्ष छ । महेश दवाडीले फिल्मको कथा तयार पारेका हुन् । बुझिए अनुसार, फिल्ममा प्रदीपको क्यारेक्टर अहिलेसम्मकै भिन्न हुनेछ । फिल्ममा प्रदीपलाई अनुबन्ध गराएसँगै निर्माण टिम अन्य कलाकारहरु छनौट गर्ने तयारीमा जुटेको छ ।
‘प्रेमगीत ३’को सफलतापछि प्रदीपलाई कयैन् फिल्मबाट प्रस्ताव पुगेका थिए । त्यसमध्ये उनले निर्देशक वलीको फिल्म मात्र छनौट गरेका हुन् । अब उनले तत्काल अरु फिल्म साइन नगर्ने स्रोत बताउँछ । उनले एक बलिउड फिल्ममा काम गर्न लागेको चर्चा भने चलिरहेको छ । यसका लागि उनी बाक्लै रुपमा मुम्बई पुगिरहेका छन् । यो वर्ष उनको फिल्म ‘प्रकाश’ पनि प्रदर्शन भएको थियो ।

