
तमिल सुपरस्टार विजय अभिनीत फिल्म ‘वरिसु’ भोलि शनिबारबाट नेपालमा प्रदर्शन हुने भएको छ । आज (शुक्रबार)बाटै प्रदर्शन गर्ने योजनामा प्रदर्शक थिए । तर, सेन्सर सिफारिसमा ढिलाई हुँदा शुक्रबार दिउँसो सेन्सर भएपछि भोलिबाट प्रदर्शनमा आउन लागेको हो । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शनिबारका लागि २१ शो उपलब्ध गराएको छ ।
यो फिल्मले भारतमा दयनीय समीक्षा पाएको छ । भारतको नामी अनलाइन पोर्टल कोइमोइले ‘वरिसु’लाई २ रेटिङ दिँदै विजयको अभिनय र डान्सभन्दा बाहेक हेर्न लायक अरु केही नभएको उल्लेख गरेको छ । त्यस्तै, हिन्दूस्तान टाइम्सले समीक्षामा ट्रेलर हेरेर ठूलो अपेक्षा राखे फिल्मले नराम्ररी निराश बनाउने बताएको छ । खराब समीक्षाको असर अब फिल्मको व्यापारमा पर्ने निश्चित छ ।
विजयको नेपालमा पनि उल्लेख्य फ्यान फलोइङ छ । अभिनय, डान्स र एक्सनमा अब्बल मानिने उनका हिन्दी डब तमिल फिल्म युट्युबमा भारतीयभन्दा नेपालीले धेरै हेर्ने गर्छन् । ती दर्शक हलसम्म आउने विश्वासमा नेपाली वितरकले उनी अभिनीत ‘वरिसु’लाई नेपाल भित्राएका हुन् । तर, कमजोर समीक्षाका कारण फिल्मले नेपालमा दर्शकको खडेरीको सामना गर्ने सम्भावना देखिएको छ ।
‘बाहुबली’ सिरिज, ‘आरआरआर’, ‘केजीएफ’ सिरिज जस्ता साउथ फिल्महरुले नेपालमा सानदार व्यापार गरेपछि यतिबेला नेपाली वितरकहरुको आँखा बलिउडभन्दा साउथ फिल्ममाथि छ । तर, सबै साउथ फिल्म कहाँ पैसाको बोट हुन्छन् र ! ‘केजीएफ २’पछि नेपाल भित्राइएका एउटै पनि साउथ फिल्मले वितरकको पैसा उठाएका छैनन् । न त बलिउडका ठूला भनिएका फिल्महरुले नै ।

