
फिल्म निर्माणमा सफलताको स्वाद चाखिरहेका किरण नेपालीको परिचय निर्माताको रुपमा मात्र सीमित छैन । दुई सफल फिल्म ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’ निर्माण गरिसकेका उनी कलाकार पनि हुन् । राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’मा उनले मुख्य भूमिकामा काम गरेका छन् । पुनः एकपटक उनले निर्देशक गिरीको नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् ।
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा नेपाली कलाकारको रुपमा भित्रिएका हुन् । यसै साता उनीसँग निर्माता नारायण खातीको कागजी सम्झौता भएको हो । प्राप्त जानकारी अनुसार, फिल्ममा उनी भिलेनको भूमिकामा रहनेछन् । चाँडै ‘दुई नम्बरी’कै कलाकारको सेट दोहोर्याउँदै फिल्म ‘हात्तीछाप’ बनाउन लागेका किरणले आफ्नो फिल्ममा भने अभिनय गरेका छैनन् ।
आगामी माघ २० गतेबाट छायांकन निस्कने ‘नम्बरी सुन’मा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वलीको पनि अभिनय रहनेछ । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुन फिल्ममा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहनेछ । फिल्ममा निर्माता खातीको कथा तथा गीत लेखन रहेको छ ।

