डेब्यू फिल्म ‘रुद्र’बाटै अभिनेत्री सारा सिर्पालीले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको सुन्दरताको त चर्चा भएको थियो नै, चरित्रमा डुबेर स्वभाविक अभिनय पनि पस्किएकी थिइन् । दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’बाट पनि उनले अभिनयमा निराश बनाइनन् । तेस्रो फिल्म ‘सुश्री सम्पत्ति’मा भने सिर्पालीको क्यारेक्टर नै कमजोर भएकाले त्यसको असर अभिनयमा देखियो ।
लगातार तीनवटै फिल्म असफल भएपछि हच्किएकी उनले लकडाउन अगाडि फिल्म ‘गुञ्जन’मा काम गरेकी थिइन् । तर, कोरोना महामारीले फिल्म रिलिज हुन ढिलाई भयो । शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आएको छ । औसत प्रचार-प्रसारका बीच प्रदर्शनमा आएको फिल्म साराले आफ्नो काँधमा बोकेकी छन् । साराले निभाएको पात्र अलमलिएको छ तर उनको अभिनय नियन्त्रित छ ।
लभर गर्लको भूमिका निर्वाह गरेकी उनको बोल्ड आवाज दर्शकलाई हलमा बाध्य एउटा बलियो अस्त्र हो । उनी संवाद बोल्दा मन पगाल्छ । उनको आवाजमा त्यो जादू छ । तर, चरित्र बलियोसँग स्थापित हुन नसक्दा उनको अभिनयले आँत भने भरिँदैन । यद्यपि, साराका खातिर पनि ‘गुञ्जन’ एकपटक हेर्न लायक भने बनेको छ । तर, उनको नक्कली कपालले फिल्मभरी नै आँखा विझाउँछ ।

साराको अपोजिटमा देखिएका अभिनेता द्वय प्रितमराज सेन्चुरी र कबीर खड्का अभिनयमा औसत छन् । दुवैको लुक्सले ध्यान त खिच्छ तर संवाद बोल्न थालेपछि फिस्स लाग्छ । उनीहरुले अभिनयमा आफूलाई धेरै सुधार गर्न आवश्यक देखिन्छ । कथावस्तुमा नयाँपन छैन । त्रिकोणात्मक प्रेममा आउने उतार-चढावमाथि यसअघि बग्रेल्ती फिल्म बनिसकेकाले ‘गुञ्जन’को कथा नयाँ लाग्दैन ।
यद्यपि, बुझ्नै नसक्ने गरी फिल्मको कथा गुजुल्टिएको छैन । फिल्म सरसरती बगेको छ । संवाद लेखनमा मिहिनेत देखिन्छ । केही प्रेमभाव व्यक्त गर्ने संवादले मन हुडल्छ । तर, त्यो साराले बोल्दा मात्र । मध्यान्तरअघिको सस्पेन्स पाटो सजिलै अनुमान लगाउन सकिने खालको छ भने क्लाइमेक्स नाटकीय लाग्छ । फिल्ममा भिएफएक्स ज्यादै कमजोर छ । छायांकन र गीतसंगीत औसत छ ।
द्वन्द्व निर्देशनमा स्थापित अष्टमान महर्जनको ‘गुञ्जन’ डेब्यू निर्देशित फिल्म हो । पहिलो निर्देशकिय प्रयास भएकाले फिल्ममा भएका कमी-कमजोरीमा उनलाई छुट दिन सकिन्छ । तर, भविष्यमा उनीबाट योभन्दा स्तरीय फिल्मको अपेक्षा रहनेछ । नयाँपन खोज्ने हो भने ‘गुञ्जन’ उपयुक्त नहुन सक्छ । तर, साराको अभिनयको लागि भए पनि एकपटक फिल्म हेर्दा समयको सदुपयोग हुनसक्छ ।

