Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार वर्षमा दुईटा बने ‘चि मुसी चि’, दुवै पत्तासाफ

फिल्मीखबर, काठमाडौं, 2023/01/11

movie chi musi chi

 

प्रख्यात साहित्यकार विलियम शेक्सपियरले नाटक ‘रोमियो एन्ड जुलिएट’मा लेखेका थिए, ‘नाममा के छ र ?’ तर, नेपाली फिल्मको हकमा नाममै छ जे छ । नामकै लोभमा भकाभक सिक्वेल बनिरहेका छन् । फिल्मको नाम जुराउनकै लागि ज्योतिषको दैलोसम्म चहार्नेको संख्या बढ्दो छ । उस्तै उस्तै नाममा फिल्म बनिरहेका छन् । त्यसैले शेक्सपियरको भनाई नेपाली फिल्ममा लागू हुँदैन ।

नाममा कतिसम्म लुछातानी छ भन्ने कुरा चार वर्षको अन्तरालमा एउटै नाममा दुईटा फिल्म निर्माण हुनुले पनि बुझाउँछ । फिल्मको नाम हो, ‘चि मुसी चि’ । २०७५ सालको साउनमा यो नाममा निर्माण भएको फिल्म प्रदर्शनमा आएको थियो । दिनेश श्रेष्ठ निर्देशित फिल्ममा सुशान्त कार्की, सुनिल क्षेत्री, एलिसा शर्माको मुख्य भूमिका रहेको थियो । यो त्यस वर्षको डिजास्टर फिल्म बनेको थियो ।

यसको चार वर्षपछि निर्देशकद्वय मर्ण जेम्स र यश सैनीले ‘चि मुसी चि’ नामको पछाडि ‘इभन डेड डिजायर बिलङ्गिङ’ जोड्दै हरर फिल्म बनाए । यही शुक्रबारबाट प्रदर्शित फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, आयुष्मान देशराज जोशी, बेनिशा हमालको मुख्य भूमिका रहेको छ । तर, दोस्रो पटक पनि उक्त नामलाई दर्शकले पत्याएनन् । फिल्मले यतिबेला दर्शकको अभाव झेलिरहेको छ ।

चि मुसी चि बालबालिकाहरुको लोकप्रिय खेल हो । हातमा हात राखेर चिमोट्ने शैलीमा यो खेल खेल्ने गरिन्छ । तर, यो खेल जति लोकप्रिय छ, यो नाममा बनेका फिल्मले भने लोकप्रियता कमाउन सकेका छैनन् । हुन त चार वर्षको अन्तरालमा बनेका दुईटा ‘चि मुसी चि’ असफल हुनुको पछाडि एउटै कारण छ, पटकथा र प्रस्तुतिकरणमा चुक्नु । त्यसो त नेपाली फिल्मको यो पुरानै रोग हो ।