स्क्रिप्टलाई दृश्यभाषामा उतार्नु आफैंमा चुनौतीको काम हो । स्क्रिप्टको भाव दृश्यमा ७० प्रतिशत उतार्न सकेको खण्डमा मात्रै पनि फिल्म हेर्न लायक बन्छ । तर, नेपालमा स्क्रिप्टसँग दृश्यभाषाको तालमेल नै हुँदैन । विशेषगरी यो कमजोरी निर्देशन पक्षबाट हुन्छ र त्यसको असरको रंग कलाकारले निभाउने पात्रमाथि देखिन्छ । तथापि, दोषको भारी निर्देशकले भन्दा कलाकारले बढी बोक्नुपर्छ ।
तर, निर्देशक तथा निर्माता रमेश एमके पौडेल फिल्ममा कलाकारले निर्वाह गर्ने पात्र कमजोर निस्किए त्यसको जिम्मेवार निर्देशक हुने तर्क राख्छन् । उनी भन्छन्, ‘कलाकारलाई पात्रमा निर्देशकले ढाल्ने हो र कमजोरी भए जिम्मेवार निर्देशक हुन्छ । किनकि, कलाकार भनेको काँचो माटोको भाँडो हो, जस्तो आकार दियो त्यस्तै बन्छ । कलाकारले त निर्देशकको निर्देशन मान्ने न हो नि ।’

पुष २९ गतेबाट प्रदर्शनमा हुन लागेको उनको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’मा कलाकारले निर्वाह गरेको पात्रमाथि दर्शक र समीक्षकले प्रश्न उठाए त्यसको दोष लिन उनी तयार छन् । फिल्मको ट्रेलरमा प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । यस्ता कथा अब बासी भैसक्यो । दर्शकलाई पनि उत्ति ताजा लाग्दैन । तर, फिल्ममा लभस्टोरी मात्र नरहेको पौडेलको दाबी छ ।
‘फिल्म लभस्टोरीभन्दा बढी सस्पेन्स-थ्रिलर छ । यति धेरै मिस्ट्री छ कि फिल्मको अन्तिमसम्म पनि दर्शकलाई बाँधेर राख्छ । कति कुराहरु फिल्मको अन्तिमसम्म पनि थाहा हुँदैन,’ उनी अगाडि भन्छन्, ‘अहिले युवापुस्ताले भोगिरहेको कथामा नै फिल्म बनेको छ । युवापुस्ताले फिल्ममा आफ्नै कथा पाउँछन् । यसमा त्रिकोणात्मक प्रेमकथा वा लभस्टोरी मात्र छैन, धेरै मिस्ट्री र धेरै सस्पेन्स छ ।’
यसअघि केही फिल्मको निर्माण गरिसकेका निर्देशक पौडेल ‘तिम्रो मेरो साथ’ आफूलाई पहिलो निर्देशकिय फिल्म जस्तो नलागेको बताउँछन् । निर्माता भएर काम गर्दाको अनुभव र अमेरिकामा फिल्म मेकिङको कोर्षबाट धेरै कुरा सिक्न पाएकाले निर्देशन गर्न सजिलो भएको उनको अनुभव छ । मेकिङको कोर्षपछि छायांकन किन लम्बिन्छ भन्ने पनि बुझ्ने मौका पाएको उनको कथन छ ।
उनी भन्छन्, ‘मेकिङको कोर्ष गरेपछि निर्माता भएर काम गर्दाका दिन सम्झना आयो । ४० दिनमा सकिन्छ भनेको फिल्म ७५ दिन लाग्थ्यो । मेकिङको कोर्ष गरेपछि स्क्रिप्टमा होमवर्क नगर्दा सुटिङ लम्बिने रहेछ भन्ने थाहा भयो । यो फिल्ममा सुटिङ अगावै धेरै होमवर्क गरेकाले चाँडै छायांकन सकियो ।’ छायांकनको बेला केही सिनबाहेक कहिल्यै दुई टेक नलिएको पनि उनले स्मरण गरे ।

