
टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्सको तर्फबाट प्रस्तुतकर्ता शोभित बस्नेत र कलाकार थापाबीच सम्झौता भएको हो । अर्पणले कथावस्तु, चरित्र र टिम राम्रो लागेकाले फिल्म साइन गरेको जानकारी दिएका छन् । त्यस्तै, शोभितले अर्पणलाई फिल्मको कथाले मागेको बताए ।
आगामी माघ अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको फिल्ममा यसअघि अभिनेता सलोन बस्नेत अनुबन्धित भइसकेका छन् । फिल्मका लागि अन्य कलाकार र अभिनेत्रीको टुंगो चाँडै लाग्ने निर्देशक राईले जानकारी दिए । काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन हुनेछ । दुई साताअघि टेक, शोभित र सलोनले पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन फाइनल गरेका हुन् ।
यो फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, सुरेश न्यौपानेको कथा र सौरभ लामाको छायांकन रहनेछ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । बिहेपछि सलोन ‘जय हो’बाट छायांकनमा फकिँदैछन् ।

