Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘विकी डोनर’सँग मिल्छ ‘ह्यारी कि प्यारी’ ?

फिल्मीखबर, काठमाडौं, 2023/01/09

Jitu Nepal, Samragyee RL Shah and Dr. Kapil Rijal

 

सन् २०१२ को बलिउड फिल्म ‘विकी डोनर’ले वीर्य दानको विषयलाई उठाएको थियो । त्यसबेला यो विषय बलिउडकै लागि नयाँ थियो । यही प्लटमाथि नेपाली फिल्म ‘ह्यारी कि प्यारी’ निर्माण भएको आइतबार सार्वजनिक भएको ट्रेलरले छनक दिन्छ । ‘विकी डोनर’मा आयुष्मान खुराना पैसाका लागि वीर्य दान गर्छन्, ‘ह्यारी कि प्यारी’मा जितु नेपाल पैसाका लागि वीर्य दान गर्न तयार छन् ।

के ‘विकी डोनर’को नेपाली भर्सन बनेको हो ? आइतबार ट्रेलर रिलिज कार्यक्रममा पत्रकारबाट उठेको प्रश्नको जवाफमा निर्देशक डा. कपिल रिजालले फिल्मको कथावस्तु वीर्य दानमा केन्द्रित नरहेको प्रष्ट्याए । फिल्मको प्लट ‘विकी डोनर’सँग नमिल्ने उनको दाबी छ । वीर्य दान कथालाई अगाडि बढाउने एउटा माध्यम मात्र रहेको तर कहानी त्योभन्दा धेरै माथि उठेर रहेको उनले बताए ।

दन्त चिकित्सक रहेका रिजालले भनेका छन्, ‘फिल्ममा वीर्य दानको प्लट हिरो-हिरोइन सँगै कफी खाएको जस्तै हो । त्यसको त्यति साह्रो भूमिका छैन । फिल्मको कथासार भनेको एकप्रतिको जिम्मेवारी र माया हो ।’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘ह्यारी कि प्यारी’ नेपाली भाषाका साथै अन्य चार भाषामा समेत प्रदर्शन हुने रिजालले कार्यक्रममा जानकारी दिए ।

‘फिल्म पाँचवटा भाषामा प्रदर्शन हुनेछ । पहिला नेपालीमा आउँछ अनि त्यसपछि हिन्दी, बंगाली, पञ्जाबी र मराठीमा फिल्म रिलिज हुनेछ । यी सबै भाषा हलमै रिलिज हुनेछन् । अहिले मुम्बईमा डबिङको काम भइरहेको छ,’ रिजालले भने । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । डा. भोला रिजालका छोरा रहेका उनले यसअघि केही सर्ट फिल्महरुको निर्देशन भने गरेका थिए ।