Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’ र ‘चि मुसी चि’को हरिविजोग

फिल्मीखबर, काठमाडौं, 2023/01/09

सुर्खेतको एक पार्कमा राखिएको र विवादपछि हटाइएको कुरुप पाटेबाघको मुर्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ । भाइरल हुनुको कारण बाघको जिउ हात्तिको जत्रो मोटो र अनुहार बाँदरको जस्तो चुच्चो भएकाले हो । नेपाली फिल्मको अवस्था पनि यस्तै छ । ट्रेलर गर्जिएको बाघ जस्तो हुन्छ तर फिल्म भाइरल बाघको मुर्ति जस्तो । यसैले नेपाली फिल्मदेखि दर्शक विच्किरहेका छन् ।

अघिल्लो हप्ता प्रदर्शित फिल्म ‘डिसेम्बर फल्स’को टिजर र ट्रेलरले दर्शकमा उत्सुकता जगाएको थियो । आर्यन सिग्देल, उपासना सिंह ठकुरी जस्ता कलाकारको अभिनय रहेकाले फिल्मप्रति अपेक्षा पनि उच्च थियो । निर्माताले फिल्म हिट हुने दाबी समेत गरेका थिए । तर, फिल्म भने भाइरल बाघको मुर्ति जस्तो निस्कियो । स्वरुप नमिलेको । फलतः फिल्मलाई दर्शकको खडेरी लागेको छ ।

 

December Falls and chi musi chi


नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सोमबार र मंगलबार फिल्मलाई बाँडेको शो संख्याले नै ‘डिसेम्बर फल्स’ डिजास्टर भएको प्रमाणित गर्छ । आज र भोलीलाई क्यूएफएक्सले जम्मा तीन शो दिएको छ । प्रदर्शनको पहिलो दिन फिल्मले ३० शो पाएको थियो । निर्माताले ९ करोड कमाउने ठोकुवा गरेका थिए । तर, निर्माताको हातमा फिल्मबाट ९ लाखको शेयर पनि नपर्ने देखिन्छ ।

‘डिसेम्बर फल्स’को जस्तै हरिविजोग शुक्रबारबाट प्रदर्शित फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पनि छ । मिश्रित प्रतिक्रिया पाएको फिल्मले हलमा २० प्रतिशत अकुपेन्सी पनि कायम गर्न सकेको छैन । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल जस्ता परिचित कलाकारको अभिनयको बावजूद पनि फिल्म हेर्न दर्शकले कुनै रुचि नै देखाएका छैनन् ।

फिल्म ‘महापुरुष’को प्रदर्शनपछि नेपाली फिल्मको व्यापार उदेकलाग्दो बनेको छ । मंसिर महिनामा कुनै फिल्मले गतिलो व्यापार गरेनन् । पुषको तेस्रो हप्तासम्म पनि अवस्था फेरिएको छैन । कतिले फिल्म नै राम्रो नभएकाले नचलेको विश्लेषण गरेका छन् भने कतिले चिसो मौसमलाई कारण मानेका छन् । अब फिल्म क्षेत्रकै आशा पुष २९ गतेका ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ फिल्ममाथि छ ।