महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मित्रताको असली उदाहरण हुन् । स्वार्थका लागि मित्रता गाँसिने आधुनिक युगमा विगत ४२ वर्षदेखि उनीहरुबीच व्यक्तिगत र व्यवसायिक सम्बन्ध कायम छ । फरक पारिवारिक पृष्ठभूमिका उनीहरु एकअर्कालाई दाई र भाईको रुपमा सम्मान गर्छन् । नाटक, टेलिसिरियल हुँदै फिल्मसम्म एकसाथ काम गरेका महजोडी अभिनीत नयाँ फिल्म ‘महापुरुष’ले दुई हप्ता अगाडि हलमा ५१ दिन मनाएको छ । यसअघि पनि महजोडीका प्रायः फिल्महरुले यो रेकर्ड बनाएका छन् ।
शनिबार नैकापस्थित स्विटरल्यान्ड पार्कमा आयोजित फिल्मको सफलताको खुसी साटासाट कार्यक्रममा मदनकृष्ण श्रेष्ठ हरिवंशको प्रशंसामा थाकेनन् । उनले हरिवंश जस्तो मान्छे आफूले जीवनमा पाउनु ठूलो भाग्य रहेको बताए । श्रेष्ठले भने, ‘४२ वर्षदेखि हामी निरन्तर काम गर्दै आइरहेका छौं र यो यात्रा जीवनभर रहनेछ । हामी ८ अर्ब मान्छेमा ८ अर्ब सोच हुन्छ । एउटाले अर्कोको स्वभाव स्वीकार गर्दैन । तर, हामीमा त्यस्तो केही पनि भएन । हरिवंशले मलाई कति सहेको होला । उसले भनेको जस्तो म कहाँ हुँला र !’

आफू कसैलाई ‘नाईं’ भन्न नसक्ने तर हरिवंशले ‘नाईं’ भन्न सक्ने भएकाले ‘नाईं’ भन्नु परेको अवस्थामा हरिवंशकहाँ पठाउने गरेको मदनकृष्णको भनाई छ । ‘म हरिवंशका कारणले धेरै थोकबाट सुरक्षित पनि छु । ऊबाट मैले उर्जा पाउँछु,’ श्रेष्ठले भने, ‘हिजो आज मैले ठाउँ ठाउँमा लाइभटाइम अचिभमेन्ट अवार्ड पनि पाइरहेको छु । तर, मलाई सबैभन्दा ठूलो लाइफटाइम अचिभमेन्ट अवार्ड भगवानले जुराइदिएको हरिवंश नै हो ।’ उनी हरिवंशलाई आफ्नो साथी, विजनेश पार्टनर, अभिभावक, भाई सबथोक मान्ने गर्छन् ।
हरिवंश भने आफूहरु नेगेटिभ र पोजेटिभ तार रहेकोले वर्षौंदेखि बत्ति बलिरहेको बताउँछन् । हरिवंश भन्छन्, ‘मदन दाईले मलाई ‘नाईं’ भन्न सक्छ भन्नुभयो र दाईलाई ‘नाईं’ भन्न एकदमै गाह्रो लाग्छ भन्नुहुन्छ । झ्वाट्ट हेर्दा म नेगेटिभ र मदन दाई पोजेटिभ देखिन्छ । तर, नेगेटिभ र पोजेटिभ नभइ बत्ति बल्दैन । बत्ति बलिरहेको छ, धेरै वर्ष भयो । मदन दाई र म दुईटा तार हौं भने न्यूट्रल प्रदीप भट्टराई, राजाराम पौडेल, किरण केसी हुनुहुन्छ । अर्थिङ चाहिँ पत्रकार र नेपाली जनता । अर्थिङ भएन भने बत्ति निभ्न सक्छ ।’
आचार्यले ‘महापुरुष’ आफ्नो जीवनका लागि ‘बलिदान’पछिको एउटा अविस्मरणीय फिल्म बनेकोमा खुसी व्यक्त गरे । यो फिल्ममा जोडिन पाएकोमा उनी आफूलाई भाग्यमानी मान्छन् । फिल्मको चारित्रिक लुक्स लुकाउनका लागि आफू तीन महिना निमन्त्रणा आएका कुनै सार्वजनिक कार्यक्रममा नगएको पनि आचार्यले खुलाए । त्यसको प्रतिफल धेरै राम्रो मिलेकोमा उनी खुसी प्रकट गर्छन् । ‘महापुरुष’ले घरेलू बक्सअफिसमा झन्डै ११ करोडको कलेक्सन गरेको छ । फिल्मको विदेश प्रदर्शन पनि उतिक्कै सफल रह्यो ।

