फिल्म ‘प्रसाद’को एक कार्यक्रममा निर्देशक दिनेश राउतले भनेका थिए, ‘नाम चलेका कलाकारलाई लिँदा फिल्मको ब्रान्डिङ गर्न सजिलो हुन्छ ।’ उनको यो धारणा वास्तविक सत्य हो । चलेका कलाकारलाई लिएर फिल्म बनाउँदा दर्शकसम्म पुग्न र हलसम्म तान्न धेरै हदसम्म सहज हुने गर्छ । त्यसैले फिल्म निर्माण गर्दै गर्दा निर्माता तथा निर्देशकले सकभर क्रेज भएका कलाकार खोज्ने गर्छन् ।
स्टार कलाकार लिँदा स्टारडमले फिल्म चल्ने विश्वास मेकरलाई हुन्छ र उनीहरु ढुक्क रहन्छन् । मिडियाले पनि फिल्म चलाउनुपर्ने जिम्मेवारीको भारी कलाकारमाथि नै थोपर्छ । फिल्मको व्यापारलाई करिअरको परीक्षाको रुपमा समेत विश्लेषण गरिन्छ । तर, के कलाकारको काँधमा मात्र फिल्म चलाउनु पर्ने जिम्मेवारी रहन्छ ? पक्कै हुन्न । यसको जिम्मेवारी फिल्मका हरेक सदस्यमा हुन्छ ।
पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’का प्रमुख कलाकार सन्दीप क्षेत्री आफ्नो काँधमा फिल्म चलाउने जिम्मेवारी छ भनेर कसैले भन्दा त्यसलाई सम्मानित भएको मान्छन् । हालै एक भेटमा उनले भने, ‘तपाईंको काँधमा फिल्म चलाउने जिम्मेवारी छ भनेर कसैले समक्ष त सम्झियो नि । जिम्मेवारी दिनु वा जिम्मेवार ठान्नु भनेकै तपाईंको क्षमतालाई सम्मान गर्नु हो ।’
तर, आफ्नो काँधमा फिल्म चलाउनु पर्ने जिम्मेवारी छ भन्दैमा आफू दबावमा नरहने उनको तर्क छ । ‘देखिँदा कलाकारको काँधमा फिल्म चलाउनु पर्ने जिम्मेवारी हुन्छ भन्ने लाग्छ तर, चलेका फिल्म हेर्ने हो भने त्यहाँ एउटा पात्रको मात्र भूमिका रहेको हुन्न । जो पात्र जति समयका लागि देखा पर्छ त्यो समयका लागि त्यो पात्र महत्त्वपूर्ण हुन्छ । त्यसैले सबै चरित्रको भूमिका रहन्छ,’ उनले भने ।
कलाकार भनेको निर्देशक र लेखकको सोचलाई यथार्थमा परिणत गर्ने एउटा माध्यम मात्र रहेको सन्दीपको बुझाई छ । ‘तिम्रो मेरो साथ’मा आफूले अभिनयमार्फत् निर्देशकको सोचलाई न्याय गर्न सकेको प्रयास गरेको जिकिर गर्दै उनले फिल्म चलाउनु पर्ने दबाब भने महशुस नगरेको बताए । निर्देशक र निर्माताले पनि त्यसखालको कुनै दबाव महशुस गराउने काम नगरेको उनको भनाई छ ।
‘हामी यस्तो इन्डस्ट्रीमा छौं, जहाँ सय प्रतिशतमा ९० प्रतिशत फिल्म खासै राम्रो चल्दैनन् । संसारमै हेर्दा राम्रा भनिएका निर्देशकको फिल्मले पनि अपेक्षित नतिजा ल्याउन सकेका छैनन्,’ उनी भन्छन्, ‘कलाकारले आफ्नो जिम्मेवारी न्यायपूर्वक निर्वाह गर्ने हो । मैले जे गर्नुपर्ने थियो, आफैंलाई रित्याएर गरिसकेँ । अब दबाव लिएर चाहिँ के गर्नु ? बरु फिल्मको रिलिजलाई लिएर उत्साह चाहिँ छ ।’
अभिनेता पुष्प खड्का भने कुनै पनि कलाकारलाई लिँदा मेकरले केही न केही अपेक्षा राख्ने गरेको बताउँछन् । विना आधार कुनै कलाकारलाई मेकरले कास्ट नगर्ने उनको जिकिर छ । उनी भन्छन्, ‘यो कास्ट लियो भने राम्रो हुन्छ भनेर नै मेकरले कास्ट गर्ने हो । तर, फिल्म चल्नका लागि कास्टमाथि मात्र भार हुँदैन । कथावस्तु, प्रस्तुतिकरण लगायतका पक्षको पनि धेरै ठूलो हात रहन्छ ।’
उनी आफूलाई हरेक प्रोक्जेक्टमा डर लाग्ने गरेको अनुभव साट्छन् । फिल्म नचले डिमान्ड घट्छ कि, काम पाइन्न कि भन्ने कुराले उनलाई पिरोल्ने गर्छ । ‘मेरो आफ्नै होम प्रोडक्सन छैन र मैले फिल्म बनाउन सक्दिनँ,’ पुष्प गम्भीर भावमा सुनिन्छन्, ‘म जागिरे हो र मेरो कामलाई दर्शकले मन पराउनु हुन्छ कि हुँदैन, मेकरलाई म आकर्षित गर्न सक्छु कि सक्दिनँ भन्ने डर मलाई सधैं नै हुन्छ ।’
अभिनेत्री साम्राज्ञी आरएल शाह भने आफ्नो काँधमा फिल्म चलाउनुपर्ने जिम्मेवारी छ भन्दा दबाव महशुस गर्ने गर्छिन् । तर, फिल्म चल्न कलाकारको मात्र हात नरहने उनको धारणा छ । ‘हो, हामी अगाडि देखिने भएकाले त्यो लाग्न सक्छ तर, पूरै टिममा निर्भर रहने कुरा हो । सबैको भूमिका राम्रो भए मात्र फिल्म सफल हुन्छ । यद्यपि, फिल्म आउँदै गर्दा डर चाहिँ लाग्ने रैछ,’ उनी सुनिइन् ।
फिल्म रिलिजको अघिल्लो रात उनलाई निदाउन निकै सकस पर्छ । त्यसबेला मनमा डर र उत्साह दुवै हुने गरेको उनको अनुभव छ । साम्राज्ञी भन्छिन्, ‘एउटा फिल्मले तपाईंको एक वर्षको मिहिनेत देखाउँछ । त्यो एउटा फिल्म चलेन भने करिअरलाई लिएर विश्लेषण पनि हुने गर्छ । तर, मलाई फिल्म चल्छ कि चल्दैन भन्ने कुराले भन्दा पनि काम कति रुचाइन्छ भन्ने कुराले डर लाग्छ ।’

