.jpg)
नवल नेपाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशक भनिन्छ । यसको प्रमाण चाहे फिल्म ‘श्रीमान्’ होस् वा ‘मंगलम’, उनको निर्देशकिय कौशलताले दर्शकको आँखामा आँसु टिलपिलाएका छन् । फिल्मको हकमा कथावस्तु र प्रस्तुतीले दर्शक रुवाउन सक्नु सफलता मानिन्छ । नारी संवेदनाको विषयमाथि बढी दख्खल राख्ने उनले पछिल्लो पटक फिल्म ‘मारुनी’को निर्देशन गरेका थिए ।
लकडाउनको समयमा नेपालले ‘दिल चुप छ’ सिरियलको निर्देशन गरे । युटयुबमा रिलिज भएको यो सिरियल पनि नारी संवेदनामा आधारित थियो । यसबीच, उनले लघु फिल्म ‘चौतारी’को निर्देशन गरेका छन् । शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्ममा पनि नवलले महिलाको कथा उठाएका छन् । एकल महिलालाई नयाँ जीवनको सुरुवात गर्न पाउने हक छ भन्ने सन्देश फिल्मले दिन्छ ।
अभिभावक तथा सन्तान दुवैतर्फको जिम्मेवारीलाई अदृश्य ढङ्गले व्यक्त गरिएको फिल्मको लेखन दिनेश न्यौपाने र निर्देशक नेपाल स्वयंको हो । झन्डै १६ मिनेटको फिल्ममा हरि ढकाल र गीता ढकाल निर्मातामा छन् । मदन काश्यप घिमिरेको छायांकन रहेको फिल्ममा नविन निरौलाको सम्पादन छ । संगीतकार समेत रहेका एलिस कार्कीले ‘चौतारी’मा ब्यान्डग्राउन्ड म्यूजिक दिएका हुन् ।
आमा छोरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा वसन्त भट्ट, मिना ढकाल, विकाश लामिछाने र सिम्रन खड्का मुख्य भूमिकामा छन् भने प्रिया न्यौपानेको अतिथी भूमिका छ । सिम्रन र प्रिया कान्तिपुर फिल्म एकेडमीबाट पास आउट विद्यार्थी हुन् । यो फिल्मबाट सिम्रनले अभिनयमा सम्भावना देखाएकी छन् । निर्देशक नेपाल चाँडै नयाँ फिल्म निर्देशनको तयारीमा छन् ।

