(निर्देशक अष्ट महर्जन)
अभिनेत्री सारा सिरपाइली चार वर्षपछि फिल्म ‘गुञ्जन’मार्फत् ठूलो पर्दामा देखिँदैछिन् । फिल्म ‘सुश्री सम्पति’पछि उनले ‘गुञ्जन’मा काम गरेकी थिइन् । तर, कोभिडसँगै विभिन्न कारणले फिल्म निर्माण भएर प्रदर्शनका लागि तयार हुन केही ढिला भयो । यो बीचमा उनले फिल्म ‘हनी बनी’ पनि सम्झौता गरेकी थिइन् । तर, बेलायतको भिसा झर्न ढिलाई हुँदा उनले फिल्म छाड्न बाध्य हुनुपर्यो ।
अहिले सारा दुबईमा छिन् । होटल म्यानेजमेन्टको अध्ययन गरेकी उनी दुबईमा नै आकर्षक तलबसहित काम गरिरहेको जानकारी प्राप्त छ । जागिरे जीवनमा व्यस्त रहँदा उनी अभिनीत फिल्म ‘गुञ्जन’ यही पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । उनलाई फिल्मको प्रचारका लागि नेपाल झिकाउन निर्माण टिमले प्रयास गरिरहेको भए पनि जागिरले गर्दा सारा तत्काल नेपाल नआउने भएकी छन् ।
बरु, साराले निर्माता र निर्देशकलाई दुई महिना पछाडि रिलिज सार्न आग्रह गरेकी थिइन् । बिहीबार एक कार्यक्रममा निर्देशक अष्ट महर्जनले भने, ‘दुबई जाने बेला मलाई उहाँले प्रचारमा आउँछु भन्नुभएको थियो । पब्लिसिटीका लागि नेपाल आउने बेला उहाँको दुबईमा राम्रो जागिर मिलेछ । उहाँले ‘दुई महिना पछाडि रिलिज सार्न सके म आउने थिएँ’ भनेर मलाई म्यासेज गर्नुभएको थियो ।’
अष्टले साराको करिअर दुबईमा राम्रो छ भने आफूहरुले प्रचार-प्रसारका लागि दबाब दिन उपयुक्त नहुने बताए । उनले अगाडि भने, ‘उहाँले दुबईमै बसेर भए पनि फिल्मका प्रचार सामाग्रीहरु सामाजिक सञ्जालमा पोस्ट गरेर शुभकामना दिइरहनु भएको छ । म त खुसी छु । सारा खुसी हुनु भनेको हामी पनि खुसी हुनु हो ।’ साराको कामप्रति पनि आफू खुसी रहेको महर्जनको भनाई छ ।

