.jpg)
२०७३ सालको व्यवसायिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको ‘भष्मे डन’मा अभिनेता सौगात मल्लको पनि अभिनय रहने भएको छ । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसकेको छ । अहिले पोखरामा रहेका सौगात काठमाडौं फर्किएपछि कागजी सम्झौता हुनेछ ।
फिल्ममा सौगातभन्दा अगाडि विपिन अनुबन्धित भइसकेका छन् । फिल्ममा उनले भष्मे डनको चरित्र निर्वाह गर्नेछन् । ‘पशुपति प्रसाद’कै निर्देशक तथा लेखक दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्मको आगामी फागुन १२ गतेबाट छायांकन सुरु हुनेछ । अहिले स्क्रिप्ट ‘रि-राइट’को चरणमा रहेको निर्देशक खनालले जानकारी दिए । स्क्रिप्ट खगेन्द्र लामिछानेले लेखिरहेका छन् ।
‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’को कथाको उठान हुनेछ । निर्देशक खनालले फिल्मबारे भनेका छन्, ‘यो सिक्वेल होइन । ‘पशुपति प्रसाद’को अन्तिममा भष्मे डन केही परिवर्तन हुन खोजेको देखिएको थियो । त्यहाँबाट आजसम्मको उसको यात्रालाई देखाउन लागिएको हो ।’ फिल्मको अधिकांश छायांकन काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर हुने उनले बताए ।
‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रविन्द्र सिंह बानियाँको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । खगेन्द्र लामिछाने भने सरप्राइज हुने बताइएको छ । अहिले निर्माण टिम फिल्मका लागि एक फिमेल क्यारेक्टरको खोजीमा छ । दीपेन्द्र र खगेन्द्रले मिलेर फिल्मको निर्माण गर्नेछन् । यसअघि उनीहरुबीच दुई फिल्म ‘पशुपति प्रसाद’ र ‘धनपति’मा सहकार्य भएको थियो ।
के ‘भगवत् गीता’ पनि गर्दैछन् सौगात ?
झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’को एउटा महत्त्वपूर्ण भूमिकाको अफर सौगात मल्ललाई गरिएको छ । पहिला अभिनेता दयाहाङ राईलाई अफर गरिएको भूमिका केही परिवर्तन गरेर सौगातलाई प्रस्ताव गरिएको हो । सौगातलाई चरित्र र स्क्रिप्ट चित्त बुझेको छ । तर, कागजी सम्झौता भने नभइसकेको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी दिए ।
उनले भने, ‘सौगातजीसँग कुराकानी भैरहेको छ । तर, उहाँको अर्को फिल्मसँग सेड्युल जुध्ने भएपछि सम्झौता हुन सकेको छैन । सेड्युल मिलेको खण्डमा उहाँले काम गर्न सक्नुहुन्छ ।’ ‘भगवत् गीता’मा अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगरको मुख्य भूमिका रहनेछ । अहिले प्रि-प्रोडक्सनको काम भइरहेको र माघ अन्तिम साताबाट सुटिङ सुरु गर्ने योजना रहेको थापाले बताए ।

