.jpg)
यही पुष २९ गतेबाट प्रदर्शन हुन लागेको अष्ट महर्जनद्वारा निर्देशित फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक छ । अभिनेत्री सारा सिर्पाली र नव अभिनेता प्रितमराज सेन्चुरीबीचको प्रेमिल सायरी संवाद रोचक छ ।
एएच इन्टरटेनमेन्ट र हिराकृष्ण शाही फिल्मस्को ब्यानरमा निर्मित यस फिल्ममा सारा, प्रितम र कबीरसँगै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, इभा श्रेष्ठ, रोहण शाहीलगायतको अभिनय रहेको छ । हिराकृष्ण शाहीको प्रस्तुकर्ता रहेको फिल्मको निर्माता सुनिता शाही हुन् । द्वन्द्व निर्देशनमा स्थापित अष्टले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
निर्देशक महर्जनले आफ्नो विधा एक्सन भए पनि पहिलो फिल्म लभस्टोरी गर्ने इच्छाअनुरुप ‘गुञ्जन’ निर्देशन गरेको बताए । ‘पहिलो फिल्म लभस्टोरी गर्ने मेरो इच्छा नै थियो । यसपछि मात्र एक्सन प्रधान फिल्म बनाउँछु । विधा अलि फरक भएकाले सुरुमा ‘गुञ्जन’ निर्देशन गर्न गाह्रै भएको थियो तर, पछि सहज हुँदै गयो,’ उनले भने । फिल्म राम्रो बनेकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ ।
काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले गर्दैछ । निर्माता हिराकृष्ण शाहीले पहिलो प्रयास भए पनि फिल्म उत्कृष्ट बनेको दाबी गरेका छन् ।

