Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’मा दयाहाङ र सौगातपछि उपासना भित्रिइन्

फिल्मीखबर, काठमाडौं, 2023/01/04

upasana shing thakuri

 

निर्माता किरण नेपालीले आफ्नो नयाँ फिल्म ‘हात्तीछाप’मा यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’को कलाकारको सेट नै दोहोर्‍याउने भएका छन् । दुई साता अगाडि अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँग कागजी सम्झौता गरेका निर्माता नेपालीले बुधबार अभिनेत्री उपासना सिंह ठकुरीलाई फिल्ममा अनुबन्धित गरेका छन् । योसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।

‘दुई नम्बरी’मा उपासनाको पारिश्रमिक ६ लाख थियो । यो फिल्म हिट भएपछि उनले ‘हात्तीछाप’का लागि ४ लाख बढी पारिश्रमिक मागिन् । तर, उनलाई १० लाख तिर्न निर्माता नेपाली तयार भएनन् । उपासना पनि टसमस भइनन् । तर, शुक्रबारबाट प्रदर्शित ‘डिसेम्बर फल्स’को निराशाजनक नतिजापछि उनले हिटको लोभमा पारिश्रमिक केही कम गर्दै फिल्म साइन गरेको स्रोत बताउँछ ।

सिमोस सुनवारको निर्देशन रहने फिल्म सामाजिक विषयवस्तुमा बन्न लागेको हो । प्रदीप भारद्वाजले फिल्मको पटकथा तथा संवाद लेखेका छन् । प्रदीपले १५ लाख पारिश्रमिक लिएर बाँकी केही प्रतिशत मुनाफा लिने सर्तमा स्क्रिप्ट लेखेका हुन् । त्यस्तै, सौगातले २० लाख पारिश्रमिक माया गर्दै मुनाफाको हिस्सेदारीमा बसेको जानकारीमा छ । दयाहाङले भने मोटो पारिश्रमिक बुझेका छन् ।

अगामी चैत्रबाट छायांकन सुरु गर्ने योजनामा निर्माता नेपाली छन् । उनी ‘दुई नम्बरी’पछि फिल्म ‘पोइ पर्‍यो बुढो’ बनाउने तयारीमा थिए । तर, प्रदीपको स्क्रिप्ट मन परेपछि उनले उक्त फिल्मलाई थाती राख्दै ‘हात्तीछाप’ बनाउन लागेका हुन् । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरेको पनि अभिनय रहने फिल्ममा किरणसँगै दीपक मनाङे र अमलादेवी राई निर्माताको रुपमा रहेका छन् ।