
बलिउडको एउटा माइलस्टोन फिल्ममध्येमा गनिन्छ, ‘गदर’ । सन् २००१ मा रिलिज भएको सनी देओल र अमीषा पटेल अभिनीत यो फिल्मको बक्सअफिसमा अभिनेता आमिर खान स्टारर फिल्म ‘लगान’सँग भिडन्त भएको थियो । यसका बावजूद पनि फिल्मले कमाईमा कयौं रेकर्ड बनाएको थियो । रिलिजको २२ वर्षपछि पनि यो फिल्मका हरेक एक दृश्य र संवाद दर्शकलाई कन्ठस्थ छ ।
अब यो फिल्मको दोस्रो पार्ट रिलिजको पखाईमा छ । अनिल शर्मा निर्देशित फिल्ममा सनी र अमीषा नै दोहोरिएका छन् । पहिलो पार्टमा सनीले ह्यान्डपम्प उखालेको दृश्य चर्चित भएको थियो । सिक्वेलमा भने उनले गोरु गाडाको काँठको चक्का उचालेका छन् । निर्माण कम्पनी जी स्टूडियोले इन्स्टाग्राममा सार्वजनिक गरेको एक भिडियो क्लिप्समा सनीले गाडाको चक्का उचालेको दृश्य छ ।
सनी तारा सिंहको लुक्समा प्रस्तुत छन् । गाडाको चक्का उचालेर उनी एक्सन अवतारमा देखिएका छन् । उनको अनुहारमा त्यही एग्रेशन छ, जुन ‘गदर’मा थियो । सिक्वेलमा पहिलो पार्टपछिको कहानी देखाइनेछ । फिल्म तारा सिंह र उनकी पत्नी सकीनाको वरिपरि घुम्नेछ । वर्षौंदेखि हिट फिल्म पर्खिरहेका सनी र अमीषा दुवैको ‘गदर २’ले त्यो सपना पूरा गर्न सक्ने सम्भावना देखिन्छ ।

