.jpg)
हतारमा फिल्मको घोषणा गरेर पछि विभिन्न कारणले थन्किने रोग नेपाली फिल्म क्षेत्रमा व्याप्त छ । छायांकनमा नजाँदासम्म फिल्म निर्माण हुन्छ भन्नेमै आशंका उब्जिने गरेको छ । कति फिल्म त छायांकन हुँदाहुँदै पनि थन्किने गरेका हुन्छन् । निर्देशक मधुसुदन भट्टराईलाई नै हेर्ने हो भने फिल्म ‘निर्भय’पछि उनले विभिन्न कलाकारसँग सम्झौता गरेर घोषणा गरेको फिल्म बन्न सकेका छैनन् ।
२०७६ सालमा भट्टराईले सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल, आश्मा गिरीको अभिनय रहने गरी फिल्म ‘सँगसँगै’को मुहूर्त गरेका थिए । तर, यो फिल्म मुहूर्तमै सीमित भयो । अब बन्छ वा बन्दैन, टुंगो छैन । यसपछि २०८७ सालमा मधुसुदनको निर्देशन र सलोन बस्नेतको अभिनय रहने गरी फिल्म ‘हामी तीन भाई’को घोषणा गरियो । यो फिल्म पनि घोषणामै अड्कियो । निर्माण अन्योल छ ।
२०७८ सालमै मधुसुदन अर्को फिल्म बनाउन तातिए, जसमा आर्यन सिग्देललाई अनुबन्ध गरे । स्रोतका अनुसार, अब यो फिल्म बन्ने छैन । यसबीच, उनले बुधबार आर्यनसँग अर्को फिल्मका लागि सम्झौता गरेका छन् । यही फिल्मका लागि उनले मुकुन भुषालसँग पनि सम्झौता गरिसकेका छन् । मुकुनसँग ‘सँगसँगै’ बेलाको सम्झौतालाई ‘रिन्यू’ गरिएको हो वा नयाँ सम्झौता हो, त्यो खुलेको छैन ।
.jpg)
सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्ममा आर्यन र मुकुन मुख्य भूमिकामा रहनेछन् । फिल्मका लागि दुई नायिकाको खोजी भैरहेको छ । फिल्मको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका छन् । जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् । आगामी फागुन अन्तिमबाट फिल्म छायांकनमा जानेछ ।

