नेपालमा निकै कम बन्ने जनरामा पर्छ, हरर फिल्म । वर्षमा एक-दुईवटा मात्र हरर फिल्म बन्छन् । अहिलेसम्म बनेका हरर फिल्मले सफलता हासिल नगर्नु र प्राविधिक पक्ष अत्यन्त अब्बल हुनुपर्ने भएकाले पनि निर्माताहरु हरर फिल्म जोखिमपूर्ण मान्छन् । तर, विश्वमा हेर्ने हो भने हरर फिल्मका दर्शक उल्लेख्य छन् । नेपालमा स्तरीय हरर फिल्म नबनेका कारण असफल भएको स्पष्ट छ ।
नेपाली हरर फिल्मको विडम्बना के छ भने दर्शक तर्सिने उद्देश्यले हेर्न जाने तर निस्कँदा कमेडी फिल्मको महशुस गर्नुपर्छ । सायद यही कारण भनिएको हुनुपर्छ, ‘हरर फिल्म विग्रियो भने कमेडी बन्छ ।’ यही पुष २२ गतेबाट अर्को एउटा हरर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ प्रदर्शनमा आउँदैछ । ट्रेलरमा तर्साउने दृश्य खासै छैनन् । यद्यपि, साइन्डको काम राम्रो देखिन्छ ।
दुई हप्ताअघि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा एक पत्रकारले निर्देशक मर्ण जेम्सलाई सोधेका थिए, ‘दर्शकले कस्तो हँसायो त भन्नु पर्दैन नि ?’ जवाफमा उनले फिल्मले तर्साउने दाबी गरिन् । ‘हो, दर्शक फिल्मले तर्साउँछ भनेर जाने तर त्यो कुरा ‘मिस’ हुने गरेको छ । तर, हामीलाई के विश्वास छ भने यो फिल्म हेर्दा दर्शकलाई डर लाग्छ । हामीले त्यो प्रयास गरेका छौं,’ जेम्सले भनिन् ।
त्यस्तै, अर्का निर्देशक यश सैनीले एक वास्तविक घटनामाथि आधारित भएर फिल्म निर्माण भएको जानकारी दिए । मुम्बईमा बस्ने गरेका उनले आफ्नो घर नजिकै रहेको संजय गांधी नेशनल पार्कमा हराएकी एक बच्चीलाई बली दिएर टुक्रा-टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको घटनामाथि फिल्म बनेको उनले बताए । फिल्मले हरर जनरामा दर्शकलाई नयाँ स्वाद दिने उनको विश्वास छ ।

