Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘गुञ्जन’माथि अडिएको साराको करिअर

फिल्मीखबर, काठमाडौं, 2023/01/04

सारा सिरपाइली ‘हिरोइन मेटिरियल’ हुन् । उनमा अभिनय र सुन्दरता दुवै छ । फिल्म ‘रुद्र’बाट डेब्यू गरेकी उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको सुन्दरताको पनि ठूलै चर्चा भएको थियो । तर, फिल्मको नतिजा अत्यन्त निराशाजनक आयो । त्यसपछि साराले दोस्रो फिल्मको रुपमा ‘पिंजडा ब्याक अगेन’ गरिन् । यसबाट पनि संख्या थप्नेबाहेक अरु उपलब्धि नै हुन सकेन ।

सुपरस्टार निखिल उप्रेतीसँग दुई फिल्ममा गरेर पनि सफलताको मुख देख्न नपाएपछि उनले ‘निखिल क्याम्प’बाट बाहिरिएर तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’मा काम गरेकी थिइन् । तर, फ्लपको श्रृंखलामा पूर्णविराम लागेन । यो फिल्मबाट फ्लपमा ह्याट्रिक गरेकी उनको यसपछि फिल्मप्रति रुचि घट्न थालेको थियो । यद्यपि, अभिनयका कारण उनलाई फिल्म अफर भने टुटेको थिएन ।

 

Sara Shirpaili


‘सुश्री सम्पत्ति’पछि उनले फिल्म ‘गुञ्जन’मा काम गरिन्, जुन यही पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । लकडाउनपछि फिल्म ‘हनी बनी’ पनि साइन गरेकी थिइन् । तर, बेलायतको भिसा झर्न ढिला भएपछि उनी फिल्मबाट बाहिरिनु पर्‍यो । फिल्ममा सोचे जस्तो करिअर नबनेपछि उनी अहिले दुबईमा बस्दै आएकी छन् । होटल म्यानेजमेन्ट पढेकी उनी दुबईमा नै काम गरिरहेको बताइन्छ ।

उनी ‘गुञ्जन’को प्रचार-प्रसारका लागि नेपाल आउने वा नआउने टुंगो भैसकेको छ । तर, उनको करिअरलाई सही बाटोमा ल्याउन यो फिल्मले व्यवसायिक सफलता हासिल गर्न जरुरी छ । एक हिसाबले यो फिल्ममाथि नै उनको करिअर अडिएको छ । यसको व्यवसायिक नतिजा हेरेपछि उनले फिल्ममा निरन्तरता दिने वा फिल्मबाट अलग हुने भन्ने निर्णय लिन सक्ने निकट स्रोत बताउँछ ।

केही हप्ता अगाडि एक कार्यक्रममा भेटिएका साराका एक ‘को-एक्टर’ले फिल्मीखबरसँग भनेका थिए, ‘साराले ‘गुञ्जन’ प्रदर्शनपछि फिल्ममा काम गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छिन् । फिल्मप्रति उनको रुचि हराएको छ । अब दुबईमा नै सेटल हुने योजनामा छिन् । अहिले उनले दुबईमा आकर्षक तलबसहित काम गरिरहेकी छन् ।’ यसरी हेर्दा साराका लागि ‘गुञ्जन’ गुञ्जिन अपरिहार्य छ ।