शुक्रबारबाट व्यवसायिक प्रदर्शन आरम्भ गरेको फिल्म ‘डिसेम्बर फल्स’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘लखर लखर’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिश क्षेत्रीको शब्द रचना तथा संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल अभिनेत्री उपासना सिंह ठकुरीलाई फकाउँदै देखिएका छन् ।
मंसिरदेखि पूरै सुस्ताएको नेपाली फिल्मको व्यापार ‘डिसेम्बर फल्स’ले लयमा फर्काउने अपेक्षा गरिएको थियो । रिलिजपूर्व निर्माता रामप्रसाद रिजालले त फिल्म हिट हुने दाबी समेत गरेका थिए । तर, बक्सअफिस नतिजा अपेक्षा विपरित आएको छ । प्रदर्शनको पाँच दिनसम्ममा फिल्मले दर्शकको खासै राम्रो साथ नपाउँदा निर्माण टिममा निराश छाएको छ । दर्शक प्रतिक्रिया भने मिश्रित छ ।
एक्सन-लभस्टोरी जनराको फिल्ममा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, सुमन थापा, नागेन्द्र रिजाल, जयना कुँवर, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद र राजकुमार भट्ट छन् ।
नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । श्रीराम बालाजी फिल्मस्ले यो फिल्मलाई देशभर वितरण गरेको हो ।

