नेपाल एयरलाइन्सका क्याप्टेन, सामाजिक अभियन्ता तथा अभिनेता विजय लामाले आफू अभिनीत फिल्म ‘अन्तिम संस्कार’ बुवाको अन्तिम संस्कार गरिरहेको समयमा साइन गरेकोले यो फिल्म आफ्नो लागि भावनात्मक हिसाबले एकदमै विशेष रहेको बताएका छन् । आफूलाई बुवाले फिल्ममा ल्याएको स्मरण गर्दै उनले संसारबाट विदा हुँदा पनि बुवाले आफूलाई फिल्म दिएर गएको बताए ।
उनी भन्छन्, ‘यो फिल्मलाई बुवाले मलाई दिएको अन्तिम उपहारका रुपमा लिएको छु ।’ उनले ‘अन्तिम संस्कार’ बन्दै आइरहेका फिल्मभन्दा फरक रहेको र निर्माता, निर्देशक एवं कलाकारहरुले निकै चुनौती मोलेर काम गरेकाले एउटा उत्कृष्ट फिल्म बनेको दाबी गरे । आफूले हरेक फिल्ममा केही फरक गर्न खोज्ने र ‘अन्तिम संस्कार’मा त्यो कुरा पाएपछि काम गरेको लामाको भनाई छ ।

‘कलाकार भएपछि केही फरक काम गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ,’ उनले भने, ‘यो खालको फिल्ममा काम गर्न जो–कोही कलाकारले आँट गर्न सक्दैनन् ।’ उनले यो फिल्मका लागि २० केजी तौल घटाएका थिए । निर्माताले ठूलो चुनौती मोलेर फिल्मको निर्माण गरेको उनको बुझाई छ । ‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
हिमाल पारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सिअसमा फिल्मको छायांकन भएको हो । साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।
‘मर्डर मिसयूज’को कथामा निर्माण भएको फिल्ममा विजय लामालाई धेरैवटा क्यारेक्टरमा पाउन सकिन्छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा विजयका अलावा दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतका कलाकारको पनि विशेष भूमिका छ ।

