.jpg)
यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को टिमले देश दौडाहा पूरा गरेर सोमबार काठमाडौं फिर्ता भएको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको मोफसल टूर चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर सकिएको हो । निर्देशक रमेश एमके पौडेल, कलाकारहरु पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्री मोफसल टूरमा सहभागी थिए ।
.jpg)
देश दौडाहाको क्रममा फिल्मको टिमले स्थानीय सञ्चारकर्मीसँग सक्षात्कार गर्नुका साथै विभिन्न कलेज पुगेर दर्शक फकाउने काम पनि गरेको थियो । सर्लाहीको लालबन्दीमा भएको सांगीतिक कार्यक्रम मोफसल टूरको सबैभन्दा सम्झनलायक बन्यो । साम्राज्ञी, पुष्प र सन्दीपलाई हेर्न कलेजका विद्यार्थीहरुको ठूलो भीड लागेको थियो । प्रहरीलाई भिड व्यवस्थापन गर्न सकस नै परेको थियो ।
.jpg)
सर्लाहीपछि इटहरी पुगेको फिल्मको टिमले शहर परिक्र गर्यो । अटो रिक्सामा फिल्मको पोस्टर टाँसेर निर्देशक र कलाकारसहित शहरको फन्को लगाउँदा त्यहाँका दर्शकको ध्यान आकृष्ट भएको थियो । अब काठमाडौँ केन्द्रित प्रचार अभियानलाई तिव्रता दिइने निर्देशक पौडेलले जानकारी दिए । मोफसल यात्रामा फिल्मप्रति देखिएको दर्शकको उत्साहले हौसला मिलेको उनको भनाई छ ।
.jpg)
शिव ढकालको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको यो लभस्टोरीमा इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतको पनि अभिनय छ । कार्यकारी निर्माता सविर श्रेष्ठको लेखन रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ । त्यस्तै, सह-निर्मातामा निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

