Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

विपिनको बलिउड फिल्मलाई २ वर्ष, तर हात लाग्यो शून्य

फिल्मीखबर, काठमाडौं, 2023/01/02

संसारकै दोस्रो ठूलो फिल्म उद्योग बलिउड छिर्न नेपालका स्थापित कलाकारहरु नै कतिसम्म मरिहत्ते गर्छन्, यो बुझ्न विपिन कार्की उपयुक्त पात्र हुनसक्छन् । नेपाली फिल्ममै निकै लोभलाग्दो करिअर बनाएका उनी लकडाउनको समयदेखि बलिउड प्रवेशका लागि कसिएका थिए । विपिनले ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा काम गर्ने सम्झौता पनि गरे ।

यो फिल्ममा काम गर्नका लागि उनले लगभग एउटा नेपाली फिल्मबाट बुझ्ने पारिश्रमिक हवाई टिकट र मुम्बईको होटलमा खर्च गरेका छन् । उनले गएको दुई वर्षमा नेपाल र मुम्बई ५/६ पटक नै ओहोर–दोहोर गरे । मुम्बईबाट फोन आउनसाथ झोलीझाम्टा बोकेर मुम्बई पुग्थे । तर, उनको भागको छायांकन कहिल्यै भएन । दुई/चार दिन माया नगरीमा डुल्थे अनि निराश भएर फर्किन्थे ।

 

bipin karki


बलिउड फिल्मको चक्करमा उनले हातमा आएका धेरै नेपाली फिल्म उम्काए । पाइपलाइनमा फिल्मको चाङ भयो । अझै बलिउड प्रेम पालिराखे नेपाली फिल्ममै करिअर संकटमा पर्न सक्ने बुझेपछि उनी फिल्म ‘प्रसाद २’को छायांकनमा व्यस्त भए । अब समय मिले मात्र ‘एनिमल’मा काम गर्ने उनको योजना थियो । अन्ततः उनले व्यस्तताका कारण बलिउड फिल्मबाट हात झिकेका छन् ।

‘प्रसाद २’को छायांकन भइरहँदा उनलाई मुम्बईबाट बोलावट आएको थियो । तर, ‘प्रसाद २’को छायांकन छाड्न नमिल्ने भएपछि उनले बलिउड फिल्म माया मारेका हुन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर, दुई वर्षको दौडधुप उनको बेकार बनेको छ ।

यतिबेला नेपाली फिल्ममै विपिनलाई भ्याइनभ्याइ छ । ‘प्रसाद २’पछि सम्भवतः उनी फिल्म ‘भष्मे डन’को छायांकनमा व्यस्त हुनेछन् । ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ जस्ता फिल्म पनि उनको पाइपलाइनमा छन् । अभिनयमा अब्बल मानिने उनी अहिलेका महंगा अभिनेतामध्ये एक मानिन्छन् । उनले ‘छड्के २’का लागि ४० लाख बढी पारिश्रमिक मागेको चर्चा चलेको थियो ।